काठमाण्डु – यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ। दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ। अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोर्याउनुपर्ने पनि उनले बताए।
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ। अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ। विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ। देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ।
सिद्धिदात्री देवीको पुजा गरिँदै
नवरात्रीको नवौं दिन सोमबार नवदुर्गाको नवौं रुप सिद्धिदात्री देवीको पुजा एवं आराधना गरी मनाईदै छ ।
भक्तिभावले सिद्धिदात्री देवीको उपासना गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता रहेको छ । महादेवले पनि यिनै देवीको उपासना गरेर आठ सिद्धि प्राप्त गरेको कुरा शास्त्रमा उल्लेख छ । सिद्धिदात्रीकै कृपाले महादेवले अर्धनारेश्वर रुप धारण गरेको मानिन्छ । यिनै देवीको उपासनाबाट सवै सिद्धि प्राप्त हुने विश्वास छ ।
दाहिनेतर्फको तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देव्रेतर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल बोकेर कमलको फूलमाथि बसेकी देवी नै सिद्धिदात्री हुन् ।
सिद्धिदात्री देवीको पूजा गर्दा सवैभन्दा पहिले आफ्ना कुल देवताको स्मरण गरेर समस्त देवी, देवताको आह्वान गर्दै दियो, कलस र गणेशको पुजा शास्त्रीय विधि अनुसार गर्ने । विभिन्न पुष्प, फल तथा नैवद्य अर्पण गर्दै धुपबत्ति गर्ने ।


प्रतिक्रिया