मुम्बई– मुम्बईमा अभिनेता टाइगर श्राफको कारमाथि गोली चलाउने आक्रमणकारीलाई १५ घण्टाभित्र राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ। आइतबार राति करिब ७ बजे टाइगरमाथि आक्रमण भएको थियो।
आरोपीहरू जयपुर र दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेका भारतीय सञ्चारमाध्मयले जनाएका छन्।। मुम्बई प्रहरीबाट सूचना पाएपछि कोटा प्रहरीले बिहान १०:३० बजे रेल्वे स्टेसनबाट उनीहरूलाई पक्राउ गरेको हो।
कोटाकी प्रहरी अधीक्षक तेजस्विनी गौतमका अनुसार, तीनै जना पुणे–जयपुर एक्सप्रेसबाट जयपुर जाँदै थिए। उनीहरूलाई सामान्य डब्बामा नियन्त्रणमा लिइएको हो। उनीहरूबाट कुनै हतियार बरामद भएन।
प्रहरीका अनुसार, लरेन्स गिरोहका अनिल पण्डितले आक्रमणको सुपारी दिएका थिए। अनिलले भिडियो जारी गरेर घटनाको जिम्मेवारी लिएका छन्।
टाइगरलाई गोली लागेन, तर उनको बायाँ हातमा बारुद र सिसाका टुक्राले चोट लागेको छ। गोली चल्दा उनका चालक पनि घाइते भएका छन्। तीनै आरोपीलाई कोटा सीएसपी कार्यालयमा सञ्चारमाध्यमसामु उपस्थित गराइएको छ।
तीनमध्ये एक आरोपी नाबालिग
राजस्थान प्रहरीका अनुसार पक्राउ परेका तीन संदिग्धमध्ये दुई जना हरियाणाका र एक जना बिहारका हुन्। उनीहरूमा हरियाणाको सोनीपतका रेहान र बिहारको बेगुसरायका ऋतिक कुमार उर्फ रोशन छन्।
तेस्रो आरोपी नाबालिग रहेको बताइएको छ। प्रहरीले उनीहरूसँग सोधपुछ गरेर आक्रमणको षड्यन्त्र र यसमा संलग्न अन्य व्यक्तिबारे जानकारी जुटाइरहेको छ।
मुम्बई प्रहरीकाका अनुसार, आरोपीहरूले करिब १० दिनदेखि टाइगर श्राफमाथि निगरानी गरिरहेका थिए। उनीहरूले उनको घर र जिमको पनि रेकी गरेका थिए।
गोली चलाउनुअघि आरोपीहरूले ४५ मिनेटसम्म त्यस क्षेत्रको जानकारी लिएका थिए। सामाजिक सञ्जालमा पापाराजीका भिडियो र ब्लगरहरूको सामग्री हेरेर पनि उनीहरूले टाइगरको स्थान र दिनचर्याबारे जानकारी जुटाइरहेका थिए।
आइतबार गोली चलाएपछि आरोपीहरू मुम्बईको एसभी रोड हुँदै भिले पार्ले र अन्धेरीतर्फ भागे। उनीहरूले अन्धेरी वेस्ट रेल्वे स्टेसननजिकै मोटरसाइकल छाडेर रेल चढे। प्रहरीले मोटरसाइकल बरामद गरिसकेको छ।
आक्रमणकारी अनिल पण्डितको सम्पर्कमा थिए
राजस्थान प्रहरीका अनुसार, प्रारम्भिक सोधपुछमा हरियाणाका रेहानको सम्पर्क अमेरिकामा बस्ने अनिल पण्डितसँग रहेको खुलेको छ। अनिल पण्डित लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित रहेको बताइएको छ।
गोलीकाण्डपछि सामाजिक सञ्जालका पोस्ट र अडियो क्लिपमार्फत अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएको दाबी गरे। उनले सलमान खानलाई पनि धम्की दिए र लरेन्स बिश्नोईसँग माफी माग्न भने। प्रहरीले सामाजिक सञ्जालका पोस्ट र अडियो क्लि१पको सत्यता जाँचिरहेको छ।
कोटा रेल्वे स्टेसनबाट तीनै आरोपी पक्राउ परेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। उनीहरूलाई बिहान साढे १० बजे पक्राउ गरिएको थियो। मुम्बई प्रहरीबाट सूचना पाएपछि कोटा प्रहरीले १५ मिनेटमै कारबाही गर्यो।
लरेन्स गिरोहका अनिल पण्डितले भने- दुई जनालाई मार्छौँ
आरोपीहरू पक्राउ परेपछि लरेन्स गिरोहका अनिल पण्डितको अर्को अडियो सन्देश आएको छ। त्यसमा उनले भने, ‘म प्रशासनलाई सोध्न चाहन्छु-बलिउडका मानिसहरूले सुशान्तलाई मारेका बेला किन कुनै कारबाही भएन? आज हाम्रा दाइ लरेन्सले उनीहरूविरुद्ध कारबाही गर्दा प्रशासनले हाम्रा दाइविरुद्ध बोल्छ। हाम्रो सोच भगत सिंहको जस्तै छ। हाम्रो लडाइँ चलिरहनेछ। बलिउडका यी सबै अभिनेता पाकिस्तानमा बसेका दाउदको पैसाले फिल्म बनाउँछन् र उसलाई त्यसको दोब्बर पैसा कमाएर दिन्छन्।’
उनले थपे, ‘सलमान खानको कुरा गर्दा, उसले माफी नमागेसम्म हामी उसलाई छाड्नेछैनौँ। उसको जीवन कठिन बनाइदिन्छौँ। उसले माफी माग्यो भने हामीसँग उसको कुनै वैर छैन। माफी मागेन भने उसका नजिकका सबैलाई नोक्सान पुर्याउनेछौँ, उसलाई त पुर्याउने नै छौँ। तिमीहरूले हाम्रा दुई जनालाई मार्छौ, मुम्बईमा हाम्रा १०० जना दाजुभाइ तयार छन्।’
प्रहरीले भन्यो- बिहान कोटा पुगेका थिए
कोटाकी प्रहरी अधीक्षक तेजस्विनी गौतमले भनिन्, ‘उनीहरू पुणे–जयपुर एक्सप्रेसको सामान्य डब्बामा भागिरहेका थिए। बिहान १०:३० बजे कोटा पुगेका थिए। त्यहीँबाट नियन्त्रणमा लिइयो।’
कोटाकी प्रहरी अधीक्षक तेजस्विनी गौतमले अगाडि भनिन्, ‘घटनापछि उनीहरू तुरुन्तै निस्किएका थिए। उनीहरूको योजना पहिले रेलबाट जयपुर पुग्ने, त्यसपछि बसमा दिल्ली जाने र त्यहाँबाट नेपाल छिर्ने थियो।’ मुम्बई प्रहरीको सूचनाका आधारमा पक्राउ गरिएको कोटा एसपीले बताइन्
कोटाकी प्रहरी अधीक्षक गौतमले भनिन्, ‘हिजो टाइगरमाथि आक्रमण भएको थियो। आज मुम्बई प्रहरीबाट यसबारे जानकारी पायौँ। उनीहरू तीनै जना रेलबाट कोटा पुग्नेछन् भनिएको थियो। जानकारी पाउनासाथ १५ मिनेटभित्र हामीले पूरै रेल जाँच्यौँ र त्यही क्रममा उनीहरूलाई पक्राउ गर्यौँ।’
पक्राउ परेका रेहानका बुबा रिशुद्दीनले भने, ‘ऊ धेरै वर्षअघि वेल्डिङको काम सिक्छु भनेर घरबाट गएको थियो। श्रीमतीसँग विवाद चलिरहेको छ। त्यसैले उनी १० वर्षदेखि छुट्टै बस्दै आएकी छन्। रेहान उनीसँगै बस्छ।’
राजस्थानको कोटा प्रहरीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेको छ। त्यसपछि मुम्बई अपराध शाखाले तीनै आरोपीलाई आफ्नो हिरासतमा लिएर मुम्बई लगेको छ।
उता केन्द्रीय मन्त्री रामदास आठवलेले भने, ‘टाइगरमाथिको आक्रमणमा लरेन्स गिरोहको हात छ। यस्तो हिंसा र अराजकताका लागि यो गिरोह जिम्मेवार छ। आरोपीहरूलाई चाँडै पक्राउ गरिनेछ।’
टाइगरमाथि भएको गोलीकाण्डबारे शिवसेना नेता सञ्जय निरुपमले भने, ‘हामी टाइगर श्राफ र अन्य सबै सेलिब्रिटीलाई उनीहरूको सुरक्षामा कुनै सम्झौता गरिनेछैन भनेर आश्वस्त पार्न चाहन्छौँ। लरेन्सका सहयोगीहरूलाई पनि छाडिनेछैन।’
टाइगरका चालकको बयान लिइयो
गोली चल्दा टाइगरसँगै रहेका चालकको बयान दर्ता गरिएको छ। आक्रमणमा उनको दाहिने हातमा गोली लागेको छ। राति अबेर फिरदौसकी आमा उनलाई भेट्न अस्पताल पुगेकी थिइन्।
यस घटनाको अनुसन्धान मुम्बई प्रहरी र मुम्बई अपराध शाखाले गरिरहेका छन्। प्रहरीले अनुसन्धानका लागि १५ टोली बनाएको छ।
उता टाइगर श्राफमाथि आक्रमण भएपछि सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर सुरक्षा बढाइएको छ। टाइगरमाथिको आक्रमणको जिम्मेवारी लिँदै लरेन्स गिरोहले सलमानसँग काम गर्ने जोकोहीले परिणाम भोग्नुपर्ने बताएको छ। यसअघि १४ अप्रिल २०२४ मा पनि आक्रमण भएको थियो।
गोली चलाउनुअघि आक्रमणकारीहरूले टाइगर श्राफको रेकी गरेको प्रहरीलाई आशंका छ। अभिनेता हरेक आइतबार करिब दुई घण्टा फुटबल खेल्न पुष्पा नरसी पार्क जान्छन्। आक्रमणकारीहरूलाई उनको यो दिनचर्या थाहा थियो र उनीहरू पार्कको गेटबाहिर कुरिरहेका थिए भन्ने प्रहरीको आशंका छ।
आइतबार फुटबल खेलेर फर्कँदा टाइगरको कार जुहूको पुष्पा नरसी पार्कनजिक रोकिएको थियो। उनलाई हेर्न त्यहाँ भीड जम्मा भएको थियो। त्यही बेला मोटरसाइकलमा आएका तीन जनाले टाइगरको कारमाथि पाँच राउन्ड गोली चलाए। घटना जुहू प्रहरी चौकीबाट केवल ३५० मिटर टाढा भएको थियो।


प्रतिक्रिया