फ्रान्सका मुख्य सहरमा कर्फ्यु

फ्रान्सका मुख्य सहरमा कर्फ्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फ्रान्सभर हिंसात्मक घटना बढेपछि त्यहाँको प्रशासनले राजधानी पेरिसका मुख्य भागहरूसहित अन्य प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु लागू गरेको छ ।

पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला भएका प्लेस दे ला रिपब्लिक र लेस हालेस किनमेल क्षेत्रमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरिएको छ ।

साथै, सहरका विभिन्न भागमा बिना अनुमति भेला हुन प्रतिबन्ध लगाइएको छ । फ्रान्सका दक्षिणी सहरहरू मार्से, बोर्दो, निस र लियोनका साथै उत्तरी क्षेत्रका लिल लगायतका स्थानमा युवाको आवतजावत र भीडभाडमा प्रतिबन्ध लगाउने गरी आंशिक कर्फ्युको घोषणा गरिएको हो ।

आगामी शनिबार पुनः प्रदर्शन गर्ने येलो भेस्ट आन्दोलनको घोषणापछि आवश्यकताअनुसार आंशिक तथा स्थानीय कर्फ्यु लगाउन क्षेत्रीय अधिकारीहरूलाई आग्रह गरिएको हो । विद्यार्थीले विद्यालयको अवस्था सुधारको माग गर्दै गत महिना सुरु गरेको आन्दोलनमा अहिले ट्रेड युनियन तथा अन्य विरोध समूह पनि जोडिएका छन् ।

प्रदर्शन नियन्त्रण बाहिर जाँदा केही सहरमा प्रहरीको नियन्त्रण गुमेको गृहमन्त्री लोरियान्ट न्युनेजले स्वीकार गरेका छन् ।

गृहमन्त्री न्युनेजले दिएको राजीनामा राष्ट्रपति इम्यानुएल म्याक्रोंले अस्वीकार गर्दै सुरक्षा निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने बताएका छन् ।

हालसम्म २ हजार ५ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने करिब १ हजार प्रहरी घाइते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यास र ग्रिनेट लागेर एक प्रदर्शनकारीको हात छिन्नभिन्न भएको जनाइएको छ ।

प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले संकटकाल घोषणा हुनसक्ने सम्भावनालाई नकार्दै क्षति पुर्‍याउनेहरूबाटै क्षतिपूर्ति असुलिने बताएका छन् । ‘सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिहरूबाटै क्षतिपूर्ति भराउने गरी कानुन ल्याइनेछ,’ उनले भने ।

फ्रान्सको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सीसीआई) का अनुसार हप्तान्तको हिंसाबाट २ हजारभन्दा बढी पसल तथा व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् भने करोडौँ युरो बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।

फ्रान्सको चेम्बर अफ कमर्सका अध्यक्ष एलेन डि क्रेसेन्जोका अनुसार हिंसाका कारण देशभर दुई हजारभन्दा बढी पसल प्रभावित भएका छन्। क्षति सयौँ मिलियन युरो पुग्ने अनुमान गरिएको छ।

फ्रान्समा मार्चयता डिजेलको मूल्य करिब ४० प्रतिशत र पेट्रोलको मूल्य २५ प्रतिशतले बढेको छ। सन् २०२१ यता खाद्यवस्तुको मूल्य पनि २५ प्रतिशतले वृद्धि भएको छ।

युरोपेली सङ्घले हिंसाको निन्दा गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकारको रक्षा हुनुपर्ने बताएको छ। जर्मनी र बेलायतले पनि हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, इटाली, बेल्जियम, स्पेन र पोर्चुगलमा पनि जीवनयापन तथा आवासको बढ्दो लागतविरुद्ध प्रदर्शन भइरहेका छन्।

फ्रान्समा भने आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा अशान्तिले राजनीतिक तनावसमेत बढाएको छ।