ललितपुर – नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।
नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।
नेपाली कांग्रेसका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै यस दु:खद घडीमा पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।
कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य मान्यताविपरीत भएको उल्लेख गर्दै यस्ता घटनाको निन्दा र भर्त्सना गरेको छ । नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दु:खद र चिन्ताजनक भएको पार्टीको भनाइ छ ।
कांग्रेस सभापति गगनकुमार थापाले अनाहकमा १ जना नेपालीको समेत ज्यान गुम्नु अत्यन्त दु:खद भएको बताउँदै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराएको कार्यबाहक मुख्यसचिव दुलालले जानकारी गराए ।
विज्ञप्तिमार्फत सभापति थापाले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा साउदी अरबमा रहेका नेपाली नागरिकको उद्धारको प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन् ।
नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कूटनीतिक तथा सुरक्षासम्बन्धी पहल गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिइएको कार्यबाहक मुख्यसचिव दुलालले बताए ।
यसअघि साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन अवरोध गर्ने क्रममा खसेको भग्नावशेषले ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी हुँदा १ नेपाली र १ फिलिपिनो नागरिकको मृत्यु भएको तथा पाकिस्तानी र भारतीय नागरिक घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । साउदी अधिकारीका अनुसार घटनाले तेल क्षेत्रको सञ्चालनमा भने असर पारेको छैन ।


प्रतिक्रिया