एनपीएलका लागि म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

एनपीएलका लागि म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगर किंग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ ।

म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलंकाको टेस्ट तथा १ दिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

उनले आफ्नो अन्तरराष्ट्रिय करिअरमा टेष्टमा ११९ खेलमा ८ हजार २१४, १ दिवसीयमा २२६ खेलमा ५ हजार ९१६ र ९० टी–२० अन्तरराष्ट्रिय खेलमा १ हजार ४१६ रन बनाएका छन् ।

बलिङतर्फ उनले टेष्टमा ३३, १ दिवसीयमा १२६ र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन् । म्याथ्युजले इण्डियन प्रिमियर लिग (आईपीएल) र लंका प्रिमियर लिग (एलपीएल) पनि खेलिसकेका छन् ।

यस्तै दक्षिण अफ्रिकीमूलका अमेरिकन अलराउन्डर शेड्ली भान स्काल्कविकले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने भएका छन् । लुम्बिनीले बिहीबार सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो ।

शेड्लीले हालसम्म १३ एक दिवसीय खेल र १८ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), आईएल टी–२० जस्ता प्रतिष्ठित लिगमा प्रतिस्पर्धा गरिसकेका छन् ।

तेस्रो संस्करणको एनपीएल कात्तिक ९ गतेदेखि काठमाण्डुमा आयोजना हुँदैछ ।