काठमाण्डु – इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा कीर्तिमानी दोहोरो शतक बनाए पनि श्रीलंकाले रोमाञ्चक खेलमा दुई विकेटको जित निकालेको छ।
बिहीबार रावलपिण्डीमा भएको त्रिदेशीय शृङ्खलाको खेलमा श्रीलंकाले इंग्ल्यान्डले दिएको ४३० रनको लक्ष्य एक बल बाँकी छँदा आठ विकेट गुमाएर पूरा गर्यो। यो ओडीआई क्रिकेट इतिहासमा सफलतापूर्वक पछ्याइएको दोस्रो ठूलो लक्ष्य हो।
ब्रुकको विश्व कीर्तिमान
इंग्ल्यान्डका २७ वर्षीय कप्तान ब्रुकले ११६ बलमा २०२ रन बनाए। उनले ११४ बलमै दोहोरो शतक पूरा गर्दै ओडीआई इतिहासकै सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान कायम गरे।
यसअघि भारतका शुभमन गिलले ११७ बलमा दोहोरो शतक बनाएका थिए। ब्रुक ओडीआईमा दोहोरो शतक बनाउने पहिलो इंग्लिस खेलाडीसमेत बने। उनको इनिङ्समा २१ चौका र १० छक्का समावेश थिए।
उनले जो रुटसँग पनि उत्कृष्ट साझेदारी गरे। रुटले ६६ बलमा ६९ रन बनाएपछि इंग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ४२९ रन बनाएको थियो।
रथनायकेको शतक, लियानागेको निर्णायक छक्का
विशाल लक्ष्य पछ्याएको श्रीलंकाका पवन रथनायकेले १०६ बलमा १३० रन बनाए। ओपनर अविस्का फर्नान्डो र कप्तान दसुन शनाकाले पनि शतक बनाउन सकेनन्। दुवै तीन रनले शतकबाट चुके।
इंग्ल्यान्डका बलर जोस टङले तीन विकेट लिए पनि श्रीलंकाको ब्याटिङ रोक्न सकेनन्।
अन्तिम दुई बलमा श्रीलंकालाई जितका लागि ६ रन चाहिएको थियो। जनिथ लियानागेले टङको बललाई लङअफमाथिबाट छक्का प्रहार गर्दै श्रीलंकालाई अविश्वसनीय जित दिलाए।
इंग्ल्यान्डको फाइनल कठिन
लगातार दुई खेलमा पराजित भएपछि इंग्ल्यान्ड त्रिदेशीय शृङ्खलाको अंकतालिकामा पुछारमा छ। यसअघि मंगलबार पाकिस्तानसँग इंग्ल्यान्ड ८७ रनले पराजित भएको थियो।
पाकिस्तान भने दुई खेलमा दुई जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा छ।
ब्रुकले कीर्तिमानी दोहोरो शतक बनाए पनि टोलीले ४३० रनको लक्ष्य रक्षा गर्न नसक्दा निराशा व्यक्त गरे। उनले श्रीलंकाको प्रदर्शनको प्रशंसा गर्दै बलिङमा आफ्नो टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए।


प्रतिक्रिया