काठमाण्डु – नेपाल मौसम विज्ञान विभागले आगामी हप्ताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागका मौसमविद् राजन महर्जनले हप्ताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने हप्ताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए ।
‘हप्ताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा १–२ स्थानमा धेरै भारी हिमपात हुनसक्छ,’ उनले भने, ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको तथा १–२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।’
महर्जनले हप्ताको सुरु र मध्यमा भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपात हुनसक्ने जानकारी दिए ।
पहाडी भूभागमा हप्ताको सुरु र मध्यमा सबै प्रदेशका १–२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । हप्ताको अन्त्यमा भने पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
तराईका भूभागमा हप्ताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन । हप्ताको अन्त्यमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने मौसमविद् महर्जनले बताए ।
उनका अनुसार साताको अन्त्यमा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने भूभागमा थोरै स्थानमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।
आगामी हप्तामा देशका विभिन्न भूभागको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।


प्रतिक्रिया