नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो

नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले विशेषगरी नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गरेकी छन् ।

नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवस्था बुझ्दै उनले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको खनालले बताए ।

नारायणी नदीको दुवैतर्फका बस्तीमा तटबन्ध निर्माण, कटान नियन्त्रण र बजेट व्यवस्थापनका विषयमा मन्त्री गौतमले चासो व्यक्त गरेको उनले जानकारी दिए । कटानको जोखिम बढी भएका स्थानमा तत्काल काम गर्ने र अन्य क्षेत्रमा पनि दिगो समाधानका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा मन्त्री गौतमले जोड थियो ।

अवलोकनका क्रममा स्थानीयवासीले बस्तीको सुरक्षालाई प्राथमिकतामा राख्दै नारायणी कटान नियन्त्रणका लागि बाँकी काम शीघ्र सम्पन्न गर्नुपर्ने माग गरेका थिए । जवाफमा मन्त्री गौतमले नारायणी तटबन्धको बाँकी काम संघीय आयोजनाअन्तर्गत विज्ञ इन्जिनीयरको निगरानीमा बजेट सुनिश्चित गरी अघि बढाइने बताएका थिइन् ।

उनले निर्वाचनका बेला हुने राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर गाउँबस्ती जोगाउन र विकासका काम अघि बढाउन सबै एकजुट हुनुपर्नेमा पनि जोड दिएकी थिइन् ।

यसैगरी मन्त्री गौतमले माडी नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनेकी थिइन् । माडीमा निकुञ्ज तथा जंगलको बाटो, खोला कटान तथा अन्य स्थानीय समस्याबारे जानकारी लिँदै उनले प्राथमिकताका आधारमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।