जनकपुरधाम – प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौन दुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतोलाई पक्राउ परेको जानकारी दिए ।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० मा १ बालिका र १ युवकमाथि दुर्व्यवहार गर्दै भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । आरोपितहरूले पीडितलाई घेरा हाली भिडियो बनाउनुका साथै उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएका थिए ।
उनीहरूले अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत ६ हजारसमेत स्थानान्तरण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ज१२प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका २ मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया