काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
उनले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियताको अवमूल्यनको संज्ञा दिँदै सरकारको आधिकारिक धारणा पनि यही हो भन्दै प्रश्न गरेका छन् ।
थापाले शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको राष्ट्रवाद कुनै मुलुक विशेषको विरोधमा आधारित नभएको बताए । विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने गैरजिम्मेवार तर्क भएको उनको टिप्पणी छ ।
सानो समूहका केही अपवादात्मक धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गर्नु पूर्वाग्रह भएको थापाको भनाइ छ । नेपालको राष्ट्रियता देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उनले उल्लेख गरेका छन् ।
नेपालले भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहेको स्पष्ट पार्दै थापाले सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयविरुद्ध आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन् । राष्ट्रहितका विषयमा उठ्ने आवाज असान्दर्भिक भइसकेका हुन् भन्दै उनले प्रश्नसमेत गरेका छन् ।
थापाले वाग्लेको अभिव्यक्तिलाई विगतमा अघि सारिएको भनिएको ‘मुनरो डक्ट्रिन’सँग पनि जोडेर प्रश्न उठाएका छन् । जिम्मेवार पदमा रहेका व्यक्तिले यस विषयमा जवाफ दिनुपर्ने उनको भनाइ छ ।
थापाले ‘के सरकारको धारणा यही हो ?’ भन्दै वाग्लेको अभिव्यक्ति सरकारकै आधिकारिक दृष्टिकोण हो कि होइन भन्ने प्रश्न उठाएका छन् ।


प्रतिक्रिया