काठमाण्डु- नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ झण्डै ६ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् बिक्री भएको हो ।
यसैबीच, बाढीका कारण रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् बजार व्यवस्थापन र क्षेत्रीय विद्युत व्यापारलाई निरन्तरता दिन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।
प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागको तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको थियो । उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
गत वर्षको असोजमा भारततर्फ ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो । त्यसको तुलनामा यस वर्ष असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ ।
त्यस्तै, चालु आवको भदौमा भारततर्फ ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री भएको थियो । भदौको तुलनामा असोजमा निर्यात कारोबार ८३ करोड २५ लाख रुपैयाँले बढेको प्राधिकरणले जनाएको छ ।
चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
दुई माध्यमबाट भारतमा बिजुली बिक्री
प्राधिकरणले भारततर्फ विद्युत निर्यातका लागि द्विपक्षीय विद्युत् बिक्री सम्झौता र भारतीय ऊर्जा विनिमय बजार ९आईएक्स० दुवै माध्यम प्रयोग गर्दै आएको छ ।
असोजमा द्विपक्षीय सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो । बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे(अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो ।
बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् बिक्रीबाट प्राप्त रकम बढेको उनले बताए ।
प्राधिकरणले आन्तरिक माग पूरा गरेपछि बचत हुने वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । मध्यकालीन द्विपक्षीय सम्झौताअनुसार भारतका हरियाणा र बिहारमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ ।
बाढीले रोकिएको बंगलादेशतर्फको निर्यात पुनः सुरु
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि त्रिशूली नदीमा आएको बाढीले बंगलादेशतर्फ विद्युत् निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएको थियो । त्यसपछि बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको थियो ।
बाढीका कारण हरियाणा राज्यतर्फको विद्युत निर्यात पनि आंशिक रूपमा प्रभावित भएको थियो । निर्यातका लागि स्वीकृति पाएका आयोजनामा क्षति पुगेपछि प्राधिकरणले वैकल्पिक आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्ने व्यवस्था मिलाएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रमा उत्पादित विद्युत बंगलादेश निर्यात गर्न अनुमति प्राप्त भएपछि आपूर्ति पुनः सुरु भएको हो ।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ ।
बाढीबाट प्रभावित आयोजनाको उत्पादन र प्रसारण संरचनामा क्षति पुगे पनि वैकल्पिक आयोजनाबाट निर्यातलाई निरन्तरता दिन सक्नु महत्त्वपूर्ण उपलब्धि भएको श्रेष्ठले बताए । यसबाट वर्षायामको अतिरिक्त विद्युतको बजार व्यवस्थापन र क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ ।
बंगलादेशसँग पाँचवर्षे सम्झौता
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (पीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो ।
सम्झौताअनुसार नेपालले प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको छ । भारतको प्रसारण संरचना प्रयोग गरेर तेस्रो मुलुकमा विद्युत् बिक्री गर्ने यो व्यवस्था नेपालको क्षेत्रीय ऊर्जा व्यापारका लागि महत्त्वपूर्ण छ ।
निर्यात क्षमता १ हजार १७९ मेगावाट
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ विद्युत निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया