पेरिस – फ्रान्सभर भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले १ हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले बताएको छ ।
झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेरै मानिसलाई पक्राउ गरिएको हो ।
फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी अप्रिल र मेमा राष्ट्रपति चुनाव हुन गइरहेको समयमा भड्किएको हिंसाले फ्रान्सको आगामी नेतृत्व चयनलाई समेत प्रभावित पार्नसक्ने देखिएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोँको २ कार्यकाल सकिएपछि हुन लागेको निर्वाचनले उनको उत्तराधिकारी चयन गर्नेछ । आन्तरिक मन्त्रालयका अनुसार प्रहरीले शनिबारका प्रदर्शनहरूमा ७५ वटा आगजनीलाई नियन्त्रण गरेको थियो भने २४ वटा पसल लुटिएका थिए ।
मन्त्रालयले एक विज्ञप्तिमा केही अनुसन्धान सुरु गरिएका उल्लेख छ । अनुसन्धानबारे विस्तृत विवरण दिइएको छैन । झडप शान्त भएपछि शनिबार रात सहरहरू ‘शान्त’ रहेको बताइएपनि प्रदर्शनकारीहरूले आफ्ना थप कार्यक्रम घोषणा गरेर अघि बढ्ने बताएका छन् ।
आईतबारको मन्त्रालयको विज्ञप्तिमा कति प्रदर्शनकारी घाइते भए भन्ने उल्लेख छैन । शनिबार राति आन्तरिक मन्त्री लोराँ न्युनेजले प्रदर्शनकारीहरूतर्फ १ जना टुलुजमा र अर्का क्लर्मोन्ट–फेरान्डमा गरी २ जना गम्भीर घाइते भएको बताएका थिए ।
आन्तरिक मन्त्रालयअन्तर्गतको टुलुज प्रिफेक्चर प्रशासनले एएफपीलाई बताएअनुसार २० वर्षीय १ युवकको हातमा गम्भीर चोट लागेको छ । प्रदर्शनकारीहरूको उपचार गर्ने १ सडक चिकित्सकले नाम नखुलाउने शर्तमा एएफपीसँग भने, ‘युवकको दाहिने हातका ‘केही औँला’मा गोली लागेपछि गुमेका छन् । क्लर्मोन्ट–फेरान्ड क्षेत्रका प्रिफेक्चरले त्यहाँ १ जनाको हातमा चोट लागेको बताएको छ तर कुनै औँला गुमाएको छैन ।
फ्रान्सेली क्षेत्रीय दैनिक ला नोभेल रिपब्लिक ले पोइतियर्समा १ जनाको बायाँ आँखामा चोट लागेको रिपोर्ट गरेको छ । त्यसमा आफ्नो अनुहार हातले छोपिरहेका १ जनाको तस्वीर पनि प्रकाशित गरिएको छ ।


प्रतिक्रिया