काठमाण्डु- विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओरको सन् २०२६ को विजेता को बन्ने भन्ने प्रतिस्पर्धा यसपटक निकै खुला देखिएको छ।
इंग्ल्यान्डका ह्यारी केन, फ्रान्सका किलियन एमबाप्पे र स्पेनका लामिन यामाललाई मुख्य दाबेदारका रूपमा हेरिएको छ।
फुटबलसम्बन्धी सञ्चारमाध्यम गोल डटकमका अनुसार सोमबार राति बेलायतको लन्डनमा विजेता घोषणा गर्ने तयारी छ।
यसपटक कुनै एक खेलाडीको पक्षमा स्पष्ट रूपमा नतिजा जाने अवस्था नरहेकाले प्रतिस्पर्धा रोचक बनेको छ।
मुख्य दाबेदारबाहेक अघिल्ला विजेता उस्मान डेम्बेले, रोड्री र आठ पटक बालोन डी’ओर जितिसकेका लियोनल मेसी पनि प्रतिस्पर्धामा छन्।
माइकल ओलिसे र ख्विचा क्वारात्स्खेलियालाई समेत सम्भावित दाबेदारका रूपमा हेरिएको छ।
ह्यारी केन : गोलको कीर्तिमान, तर ठूला उपाधिको अभाव
इंग्ल्यान्डका कप्तान तथा बायर्न म्युनिखका स्ट्राइकर केनले सन् २०२५–२६ को सिजन क्लब र देशका लागि कुल ७३ गोल गरेका थिए।
उनको उत्कृष्ट गोल गर्ने क्षमताले बायर्नलाई घरेलु तीन उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
तर केनको चुनौती च्याम्पियन्स लिग र विश्वकपको उपाधि जित्न नसक्नु हो। विश्वकपमा इंग्ल्यान्ड तेस्रो भएको थियो।
केनले प्रतियोगितामा ६ गोल गरे पनि अन्तिम १६ पछिका खेलमा गोल गर्न सकेनन्। त्यसैले व्यक्तिगत गोलको कीर्तिमानका बाबजुद उनको दाबेदारीमा प्रश्न उठ्न सक्छ।
किलियन एमबाप्पे : गोलमा उत्कृष्ट, उपाधिमा कमजोर
रियल मड्रिडका फ्रान्सेली स्ट्राइकर एमबाप्पेले ला लिगा, च्याम्पियन्स लिग र विश्वकपमा सर्वाधिक गोलकर्ता बनेर आफ्नो व्यक्तिगत क्षमता प्रमाणित गरेका छन्।
विश्वकपमा गोल्डेन बुट जितेका उनले प्रतियोगिताको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन्।
तर रियल मड्रिड र फ्रान्सले सिजनका प्रमुख उपाधि जित्न नसक्नु उनको कमजोर पक्ष हो।
व्यक्तिगत प्रदर्शनमा उत्कृष्ट भए पनि टोलीलाई उपाधि दिलाउन नसकेको आलोचना उनको बालोन डी’ओर अभियानमा बाधक बन्न सक्छ।
लामिन यामाल : युवा उमेरमै ठूलो उपलब्धि
बार्सिलोनाका १९ वर्षीय स्पेनिस विंगर यामाल पनि प्रमुख दाबेदार हुन्। उनले लगातार दोस्रो ला लिगा उपाधि जितेका छन् भने स्पेनले सन् २०२६ को विश्वकप जित्दा टोलीको महत्त्वपूर्ण सदस्यका रूपमा खेलेका थिए।
यससँगै उनी युरोपियन च्याम्पियनसिप र विश्वकप दुवै जित्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बनेको गोल डटकमले उल्लेख गरेको छ।
तर विश्वकपमा चोटको प्रभाव देखिएको थियो। उनले प्रतियोगितामा धेरै सफल ड्रिब्लिङ गरे पनि एक गोल र एक असिस्टभन्दा बढी योगदान दिन सकेनन्। च्याम्पियन्स लिगमा बार्सिलोना उपाधिविहीन रहनु पनि उनको दाबेदारीका लागि चुनौती हो।
लियोनल मेसी : नवौँ बालोन डी’ओरको सम्भावना
३९ वर्षीय अर्जेन्टिनी कप्तान मेसीले उमेर बढ्दै जाँदा पनि उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। उनले इन्टर मियामीलाई पहिलो एमएलएस कप जिताउन नेतृत्व गरेका थिए। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलसम्म पुगेको थियो।
अर्जेन्टिनाले विश्वकप जितेको भए मेसी नवौँ पटक बालोन डी’ओर जित्ने प्रबल दाबेदार बन्न सक्ने गोल डटकमको विश्लेषण छ।
तर फाइनलमा स्पेनसँगको हार र अमेरिकी लिग एमएलएसलाई युरोपेली फुटबलको तुलनामा कम महत्त्व दिने मतदाताको प्रवृत्ति उनको विपक्षमा जान सक्छ।
उस्मान डेम्बेले : लगातार दोस्रो पटक जित्ने लक्ष्य
अघिल्लो संस्करणका विजेता डेम्बेले लगातार दोस्रो पटक बालोन डी’ओर जित्ने लक्ष्यमा छन्। पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले लगातार दोस्रो पटक च्याम्पियन्स लिग जित्दा उनले निर्णायक भूमिका खेलेका थिए। प्रतियोगिताका अन्तिम चार खेलमा उनले ६ गोल गरेका थिए।
विश्वकपमा फ्रान्सका लागि पनि उनले ६ गोल गरेका थिए। तर अघिल्लो सिजनको तुलनामा यसपटक उनको प्रदर्शन त्यति प्रभावशाली नरहेको विश्लेषण छ। पीएसजी र फ्रान्स दुवैका उत्कृष्ट खेलाडीका रूपमा उनी निर्विवाद रहन नसक्नु उनको चुनौती हो।
रोड्री र माइकल ओलिसे पनि प्रतिस्पर्धामा
स्पेनका मिडफिल्डर रोड्रीले चोटबाट फर्किएपछि विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
स्पेनलाई विश्वकप जिताउन उनले महत्त्वपूर्ण भूमिका खेले। तर म्यानचेस्टर सिटीका लागि चोटका कारण पूरा सिजन प्रभावकारी हुन नसक्नु उनको कमजोर पक्ष हो।
बायर्न म्युनिखका माइकल ओलिसेले सन् २०२५–२६ को सिजन क्लब र देशका लागि ४१ असिस्ट गरेका थिए।
विश्वकपमा मात्रै उनले सात असिस्टको कीर्तिमान बनाएको गोल डटकमले उल्लेख गरेको छ। सिर्जनात्मक खेलमा उत्कृष्ट भए पनि बायर्नले च्याम्पियन्स लिग र फ्रान्सले विश्वकप जित्न नसक्नु उनको चुनौती हो।
जर्जियाका ख्विचा क्वारात्स्खेलियाले च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए। नकआउट चरणका लगातार सात खेलमा गोल वा असिस्टमा योगदान दिने पहिलो खेलाडी बनेका उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको सम्मानसमेत पाएका थिए।
तर जर्जिया विश्वकपमा छनोट हुन नसक्दा उनको दाबेदारी कमजोर देखिएको छ।
यसपटक किन फरक ?
बालोन डी’ओरको प्रतिस्पर्धामा व्यक्तिगत प्रदर्शन, गोल, असिस्ट, टोलीले जितेका उपाधि र निर्णायक खेलमा खेलेको भूमिकालाई महत्त्व दिइन्छ। यसपटक कुनै पनि खेलाडी सबै पक्षमा निर्विवाद देखिएका छैनन्।
केन : सर्वाधिक गोल र घरेलु तीन उपाधि।
एमबाप्पे : प्रमुख प्रतियोगितामा गोल गर्ने क्षमता र गोल्डेन बुट।
यामाल : ला लिगा र विश्वकपको उपाधि।
मेसीस् एमएलएस कप र अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएको प्रदर्शन।
डेम्बेलेस् च्याम्पियन्स लिगमा निर्णायक योगदान र अघिल्लो संस्करणको उपाधि।
गोल डटकमको विश्लेषणअनुसार यसपटक विजेता छनोटमा एउटै आधार निर्णायक हुने अवस्था छैन। गोल सङ्ख्यालाई प्राथमिकता दिने मतदाताले केन वा एमबाप्पेलाई महत्त्व दिन सक्छन्।
टोलीको सफलता र विश्वकपमा प्रभावलाई प्राथमिकता दिनेहरूले यामाल वा रोड्रीको प्रदर्शनलाई महत्त्व दिन सक्छन्।


प्रतिक्रिया