बूढीगण्डकीमा बाढी : सोती बजारसहित नदी किनारका बस्तीमा ठूलो क्षति (तस्बिरहरु)

बूढीगण्डकीमा बाढी : सोती बजारसहित नदी किनारका बस्तीमा ठूलो क्षति (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा– असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका उत्तरी क्षेत्रका बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाउनुका साथै सोती बजारसहित नदी किनारका विभिन्न बस्तीमा क्षति पुर्‍याएको छ ।

बाढीले धार्चे गाउँपालिका–५ स्थित माछिखोला बजारमा रहेका घर, पसल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति गरेको छ । केरौँजा जाने झोलुङ्गे पुलसमेत बगाएको बाढीले सल्लेरी र जगत बजारमा पनि व्यापक क्षति पुर्‍याएको छ ।

चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि एक्कासि थुनिएको पानी फुटेर बूढीगण्डकी नदीमा ठूलो बाढी आएको बताइएको छ । बाढीले नदीको बहाव बढाउँदा तटीय क्षेत्रका बस्ती डुबान तथा कटानमा परेका छन् ।

बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको बताइएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुगेको छ ।

बाढीले आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजारका अधिकांश घर बस्न नमिल्ने अवस्थामा पुर्‍याएको छ । स्थानीय राजकुमार खत्रीका अनुसार शान्तिबजारका ५८ घरधुरीमध्ये अधिकांश घरमा ठूलो क्षति पुगेको छ । बूढीगण्डकी नदीले धार परिवर्तन गर्दै बस्तीमा पसेपछि स्थानीयका घर, पशुचौपाया तथा घरायसी सामग्री बगाएको हो ।

बाढीबाट विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले त्रिपाल उपलब्ध गराएको छ । स्थानीय इन्द्रबहादुर आले मगरका अनुसार शान्तिबजारमा २७ परिवार त्रिपालमा बस्दै आएका छन् ।

धार्चे गाउँपालिका–५ माछिखोलाका स्थानीय लालप्रसाद गुरुङको गोदाममा मात्रै करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढीले धार्चे गाउँपालिका–२ केरौँजाको मुख्य आवतजावत मार्गमा रहेको पुल तथा खोर्लाबेंसीको पुलमा समेत क्षति पुर्‍याएको छ । पुलमा क्षति पुगेपछि स्थानीयको आवागमन तथा सामान ढुवानी प्रभावित भएको छ ।

बाढीका कारण गोरखाका उत्तरी क्षेत्रका बस्तीका साथै सडक, पुल र बजारमा ठूलो क्षति पुगेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । बाढीबाट विस्थापित परिवारको पुनःस्थापना, क्षतिग्रस्त पुल तथा सडकको पुनर्निर्माण र जोखिममा रहेका बस्तीको सुरक्षाका लागि तत्काल पहल आवश्यक देखिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी