चक्रवात ‘अर्नब’ प्रभाव : बिहीबारदेखि देशभर वर्षा र हिमपातको सम्भावना

चक्रवात ‘अर्नब’ प्रभाव : बिहीबारदेखि देशभर वर्षा र हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण बिहीबारदेखि देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ गतेदेखि १४ गतेसम्म अधिकांश प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले मंगलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कात्तिक १२ गते बिहीबारदेखि चक्रवात ‘अर्नब’को प्रभावसमेत पर्नेछ । हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ ।

मंगलबार राति देशभर आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ । बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल रहनेछ । देशका हिमाली भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका १–२ स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ । कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका १–२ स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

बिहीबार रातिदेखि वर्षा र हिमपातको सम्भावना थप बढ्ने पूर्वानुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली प्रदेशका केही स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका १–२ स्थानमा भारी वर्षा वा हिमपात तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका १–२ स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । यीमध्ये कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका १–२ स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा धेरै भारी वर्षा वा हिमपातको समेत सम्भावना रहेको छ ।

शनिबार पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा अधिकांश बादल लाग्ने तथा अन्य भूभागमा साधारणतया बादल रहने पूर्वानुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका १–२ स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा धेरै भारी वर्षा वा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।