छोरीको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब, एसपीलाई गाली गर्ने रास्वपा धनुषा सभापति निलम्बित

छोरीको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब, एसपीलाई गाली गर्ने रास्वपा धनुषा सभापति निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम- छोरीले गरेको कानुनी विवाह छुटाउन नमानेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादवले जिल्ला प्रहरी प्रमुखमाथि गालीगलौज गरेको खुलेको छ।

छोरीको बिहे नछुटाएको भन्दै धनुषाका एसपी रुपेश खड्काको सरुवा माग गरेपछि पार्टीले यादवलाई निलम्बन गरेको हो। रास्वपा मधेश प्रदेश कार्यालयले निलम्बनसँग पाँच बुँदे स्पष्टीकरण पनि सोधेको छ।

धनुषाको हंसपुर नगरपालिका–८ निवासी यादवले यही असोज १७ गते परिवारकी एक महिला सदस्य हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। निवेदनपछि प्रहरीले मोबाइलको कल डिटेल, लोकेशन र अरू प्रमाण जुटाएर अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा ती महिलाले काठमाडौं जिल्ला अदालतमा एकजना युवकसँग कानुनी विवाह गरेको खुल्यो । प्रहरीले दुवै पक्षसँग कुराकानी गरेर विवाहसम्बन्धी प्रमाण पनि देखायो ।

तर, यादव परिवारले स्वीकार नगरेपछि युवकलाई पक्राउ गरी विवाह छुटाउन दबाब दियो । विवाह कानुनसम्मत भएको कागजता पाइएपछि प्रहरीले रास्वपा सभापतिको कुरा मानेन।

विवाह गरेकी युवती २७ र युवक २३ वर्षीय छन्। जात र आर्थिक अवस्था नमिलेकाे यादव परिवार विवाहप्रति असन्तुष्ट थियो ।

एसपीमाथि सार्वजनिक आरोप

विवाहलाई लिएर असन्तुष्ट यादव रास्वपाले आयोजना गरेको तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा धनुषाका प्रहरी प्रमुख खड्कामाथि खनिए । उक्त कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मनिष झा र रामविनोद यादव पनि सहभागी थिए।

यादवले सम्बोधनका क्रममा एसपी खड्कालाई ‘घुसखोर’ र ‘दलाल’ समेत भने। उनले सामान्य झगडामा रकम लिएर मुद्दा दर्ता गर्ने गरेको आरोप पनि लगाए। उक्त कार्यक्रममै उनले एक साताभित्र एसपीको सरुवा माग गरे।

यादवको उक्त भड्किलो भनाइपछि जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति नै निकालेर प्रहरी संगठन आपत्ति जनायो। प्रहरीले यादवका आरोपलाई आपत्तिजनक, भ्रामक र तथ्यहीन भन्यो। एसपी खड्काले आरोप पुष्टि गर्न चुनौती दिए।

पाँच बुँदे स्पष्टीकरण

प्रहरी प्रमुख खड्कामाथि लगाइएका आरोप र यादवको सार्वजनिक अभिव्यक्तिलाई लिएर रास्वपा मधेश प्रदेश कार्यालयले मंगलबार स्पष्टीकरण माग गरेको छ। प्रदेश कार्यालयले उनलाई तीन दिनभित्र लिखित जवाफ दिन भनेको छ।

पत्रमा प्रहरी प्रमुखलाई लक्षित अभिव्यक्ति, पारिवारिक मामिलामा पदको दुरुपयोग, प्रहरी घेराउ गर्ने धम्की र पार्टीको आचारसंहिताविपरीतका गतिविधिबारे स्पष्टीकरण मागिएको छ।

तोकिएको समयभित्र चित्त बुझ्दो जवाफ नदिए पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी उनलाई दिइएको छ। उनलाई प्रदेश कार्यालयले जिल्ला पार्टी कार्यालयको चाबी तीन दिनभित्र प्रदेश सभापतिमार्फत् कार्यवाहक सभापतिलाई बुझाउन निर्देशन दिइएको छ।