चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटमा ठोक्कियो, १३५ किमि प्रतिघण्टाको वेगमा हावा चल्दै

चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटमा ठोक्कियो, १३५ किमि प्रतिघण्टाको वेगमा हावा चल्दै

५० रेल र २१ उडान रद्द, विद्यालय बन्द, विभिन्न राज्यमा भारी वर्षाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चेन्नई- बंगालको खाडीबाट विकसित चक्रवाती तूफान ‘अर्नब’ मंगलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ।

चक्रवातको प्रभावले तटीय क्षेत्रमा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलिरहेको छ भने भारी वर्षा भइरहेको छ। यो चक्रावतको प्रभावले नेपालमा पनि अबको तीन दिन भारी वर्षात् हुने अनुमान गरिएको छ।

चक्रवातका कारण ५० वटा रेल र विजयवाडा तथा विशाखापट्टनम विमानस्थलबाट हुने २१ वटा उडान रद्द गरिएका छन्। आन्ध्र प्रदेश र ओडिशामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै ४ हजार चक्रवात आश्रयस्थल तयार पारिएका छन्।

ओडिशामा भारी वर्षाका कारण १६ जिल्लाका विद्यालय बन्द गरिएका छन्। त्यहाँ ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

नौ राज्यमा भारी वर्षाको चेतावनी

चक्रवात ‘अर्नब’ को प्रभाव आन्ध्र प्रदेश र ओडिशाबाहेक तेलंगाना, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, झारखण्ड, बिहार र उत्तर प्रदेशसम्म पर्ने अनुमान गरिएको छ।

  • आन्ध्र प्रदेश र ओडिशा: भारीदेखि अति भारी वर्षा, तीव्र हावाहुरी र तल्लो भूभागमा बाढीको जोखिम।
  • तेलंगाना र छत्तीसगढ: अक्टोबर २८ र २९ मा भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना।
  • मध्य प्रदेश र महाराष्ट्र: पूर्वी मध्य प्रदेश तथा विदर्भ क्षेत्रमा वर्षा हुने अनुमान। केही स्थानमा भारी वर्षा हुन सक्ने।
  • झारखण्ड र बिहार: अक्टोबर २८ देखि ३० सम्म वर्षाको सम्भावना। बिहारमा अक्टोबर २९ र ३० मा केही स्थानमा भारी वर्षा हुन सक्ने।
  • उत्तर प्रदेश: पूर्वी उत्तर प्रदेशमा अक्टोबर २९ र ३० मा भारीदेखि अति भारी वर्षाको सम्भावना।

दुईदेखि तीन घण्टामा तटीय क्षेत्रमा चक्रवातको प्रभाव पूरा हुने अनुमान गरिएको छ । विशाखापट्टनम मौसम विभागका निर्देशक पीभीएन मूर्तिका अनुसार चक्रवात ‘अर्नब’ नरसापुर र यानमबीचको तटीय क्षेत्रमा ठोक्किएको हो। चक्रवातको गति अहिले सुस्त हुँदै गएको छ।

उनका अनुसार चक्रवात प्रतिघण्टा करिब ३ किलोमिटरको गतिमा अघि बढिरहेको छ। तटीय क्षेत्रमा यसको प्रवेश प्रक्रिया दुईदेखि तीन घण्टामा पूरा हुने अनुमान गरिएको छ।

चक्रवातको प्रवेश प्रक्रिया पूरा भएपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने सम्भावना छ। हाल प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलिरहेको छ। क्रमशः हावाको गति घट्ने र साँझसम्म वर्षाको तीव्रता पनि कम हुँदै जाने अनुमान गरिएको छ।

ओडिशामा सडक अवरुद्ध, समुद्रमा ठूला छाल

चक्रवातको प्रभावले ओडिशाको गञ्जाम क्षेत्रमा धेरै रूख ढलेका छन्। अग्नि नियन्त्रण विभागका कर्मचारीले सडकमा ढलेका रूख हटाउने काम गरिरहेका छन्।

ओडिशाका चाँदबली र धामनगर क्षेत्रमा ५० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। पुरीको समुद्रमा पनि ठूला छाल उठिरहेका छन्।

पश्चिम बंगालको पुरानो दीघा समुद्री तट क्षेत्रमा समेत तीव्र हावा चलिरहेको छ। आन्ध्र प्रदेशको कृष्णा जिल्लास्थित मछलीपट्टनममा भारी वर्षा र हावाहुरीका कारण धेरै सडकमा पानी जमेको छ।

विपद् व्यवस्थापन निकाय सक्रिय

आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरण (एपीएसडीएमए) का अनुसार चक्रवातको गतिविधि २४ घण्टादेखि निगरानी भइरहेको छ।

तटीय क्षेत्रमा चक्रवातको प्रभाव, हावाको गति र वर्षाको मात्राबारे अधिकारीहरूले निरन्तर अनुगमन गरिरहेका छन्।

यसैबीच, आन्ध्र प्रदेशकी मन्त्री अनिताले चीनागुमुलुरु क्षेत्रमा स्थानीय बासिन्दासँग भेट गरी चक्रवातपछि उत्पन्न अवस्थाको जानकारी लिएकी छन्।