पत्रकारमाथिको धरपकडमा गगनको आक्रोश : प्रधानमन्त्रीलाई रास्वपाले लगाम लगाओस्

पत्रकारमाथिको धरपकडमा गगनको आक्रोश : प्रधानमन्त्रीलाई रास्वपाले लगाम लगाओस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठकबाट बोलाएर निर्देशन दिनुपर्ने बताएका छन्।

सरकारको पछिल्लो कार्यशैली, पत्रकारमाथिको धरपकड र विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन गर्ने विषयमा प्रश्न उठाउँदै उनले यस्तो बताएका हुन्।

१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेपछि पहिलोपटक पार्टीको धारणा सार्वजनिक गर्दै सभापति थापाले जेनजी आन्दोलन तथा गृहमन्त्री सुधन गुरुङसहितका विषयमा बनेका छानबिन समितिका प्रतिवेदनबारे सरकारको भूमिकामाथि प्रश्न उठाए।

उनले सरकारले आफूखुसी मन परेको प्रतिवेदन लुकाउने र मन लागेको प्रतिवेदन मात्रै कार्यान्वयन गर्ने गरेको भन्दै यसले नागरिकलाई हेप्ने काम भएको टिप्पणी गरे।

पत्रकारमाथि भएको धरपकडलाई अनुचित ठहर गर्दै थापाले समाचार लेखेकै आधारमा प्रहरी मिडिया हाउसमा पठाएर पत्रकारलाई नियन्त्रणमा लिने कार्य लोकतान्त्रिक व्यवस्थालाई नसुहाउने बताए।

‘समाचार लेखेकै भरमा प्रहरी मिडिया हाउसमा पठाएर पत्रकारलाई उठाउने यो तरिका हद भयो,’ उनले भने।

यस प्रकरणमा प्रहरी प्रधान कार्यालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म विवादमा तानिएको उल्लेख गर्दै उनले सरकारभित्रकै व्यक्तिहरूको संलग्नताबारे प्रश्न उठेको बताए। तर, आरोपकै आधारमा कसैलाई दोषी ठहर गर्न नहुने उनको भनाइ थियो।

‘सरकारभित्र भएका मानिसहरूको संलग्नता रहेको कुरा आएको छ। कसैले सरकारका मान्छेको संलग्नता छ भनेको भरमा हामी गाली गर्न जाँदैनौँ। तर, यस्तो मनपरी लोकतन्त्रलाई सुहाउन सक्दैन,’ थापाले भने।

उनले यी घटनाको अनुसन्धान हुनुपर्ने भए पनि अनुसन्धान र छानबिनलाई निष्पक्ष बनाउने विषयमा गम्भीर हुनुपर्ने बताए।

सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै थापाले प्रधानमन्त्री शाहलाई रास्वपाले संसदीय दलको बैठकमा बोलाएर निर्देशन दिनुपर्ने बताए। ‘प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले निर्देशन दिएर सुधार्नुपर्छ। रास्वपा संसदीय दलको बैठकबाट प्रधानमन्त्रीलाई निर्देशन जारी होस्,’ उनले भने।

सिँचाइ विभागका महानिर्देशक र सुनकोसी-मरिन डाइभर्सन आयोजनाका प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालय पुर्‍याइएको घटनाबारे पनि थापाले प्रश्न उठाए। उनले सम्बन्धित अधिकारीले गल्ती गरेको भए कारबाही हुनुपर्ने तर त्यसका लागि कानुनी प्रक्रिया अपनाउनुपर्ने बताए।

राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित राहदानी विभागका प्रमुखलाई आठ घण्टा थुनिएको प्रसंग उल्लेख गर्दै उनले अहिले सिँचाइका अधिकारी र केही समयअघि एक ठेकेदारलाई पनि नियन्त्रणमा लिइएको घटनासँग जोडेर सरकारको कार्यशैलीमाथि प्रश्न गरे।

‘रुल अफ ल र रुल बाई लमा धेरै फरक छ। अहिले रुल बाई भइरहेको छ,’ उनले भने। प्रधानमन्त्री कार्यालयले बोलाउँदा उपस्थित हुन आउने कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर लैजानुपर्ने अवस्था किन आयो भन्ने प्रश्नसमेत उनले उठाए।

यसैगरी, विचौलियाको भूमिकाबारे गम्भीर अनुसन्धान हुनुपर्नेमा पनि थापाले जोड दिए। इनम सापकोटासँग जोडिएको विवादतर्फ संकेत गर्दै उनले यस्ता विषयमा नागरिकले सचेततापूर्वक निगरानी गर्नुपर्ने बताए।सञ्चारमाध्यमले मात्रै नभई राजनीतिक दलले पनि सरकारका गतिविधिमाथि निगरानी गर्नुपर्ने उनको भनाइ थियो।