काठमाण्डु– सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले जितका लागि १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे। अर्धशतक बनाउन एक रनले चुकेका बोपारा स्कट कुग्लेजिनको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट भए।
त्यस्तै, विवेक यादवले १७, डेभिड मलानले १६, अर्जुन साउदले १५ र कप्तान सिकन्दर राजाले १५ रन बनाए। ओपनर देव खनाल भने ७ रनमै आउट भए।
सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले सर्वाधिक २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट हात पारे।


प्रतिक्रिया