काठमाण्डु– तत्कालीन प्रधानमन्त्री एवम् नेकपाका सह-संयोजक माधवकुमार नेपाल भ्रष्टाचार मुद्दा लागेकै दिन दक्षिण कोरियातिर उडेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९७ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी त्यसपछि पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर दक्षिण कोरिया प्रस्थान गरेका हुन्।
नेपाल मंगलबार अपराह्न कोरियन एयरको उडानमार्फत दक्षिण कोरिया गएका हुन्। संयोग के छ भने अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको दिन नै उनी विदेशतिर लागेका हुन्।
नेपालले मंगलबार नै पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेका थिए। नेकपाकी नेतृ उमा भुजेललाई पार्टी प्रवेश गराउने कार्यक्रममा उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै सहभागी भएका थिए। उक्त कार्यक्रम सकेर उनी दक्षिण कोरिया प्रस्थान गरेका हुन्।
अख्तियारले मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी निजी प्रयोजनमा लगाएको आरोपमा नेपालसहित ९७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले उक्त प्रकरणमा जग्गाको न्यूनतम मूल्यांकनका आधारमा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरेको छ। तत्कालीन प्रधानमन्त्री नेपाल र तत्कालीन संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं मन्त्रिपरिषद् सामाजिक समिति संयोजक डा. मिनेन्द्रप्रसाद रिजालसहित संलग्न कर्मचारी तथा पदाधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गरिएको छ।
आयोगले नेपाल र रिजाल दुवैसँग बिगो बराबरको जरिवाना तथा थप कैद सजाय माग गरेको छ।
नेपाल दक्षिण कोरिया जानुको उद्देश्य भने एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभामा सहभागी हुनु हो। नोभेम्बर ४ देखि ७ (कात्तिक १९ देखि २२) सम्म दक्षिण कोरियाको राजधानी सोलमा महासभा हुँदैछ।
उक्त महासभामा नेपालका चार प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ।
३६ देशका करिब ९० राजनीतिक दलका ३०० प्रतिनिधि सहभागी हुने महासभामा नेकपा एमालेका तर्फबाट सचिव शेरधन राई नेतृत्वको टोली पनि सोल पुगिसकेको छ। राईसँगै एमालेका डा. गोपाल खनाल पनि प्रतिनिधिमण्डलमा छन्।
आईक्याप एसियाली देशका राजनीतिक दलहरूबीच आपसी समझदारी, सहकार्य र लोकतन्त्रको सुदृढीकरणका लागि छलफल गर्ने अन्तर्राष्ट्रिय मञ्च हो। यसको स्थापना सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको थियो।
यसैबीच, नेपालमा राजनीतिक दलहरूबीचको सम्बन्ध र समीकरणलाई लिएर पनि पछिल्लो समय विभिन्न गतिविधि भइरहेका छन्।
नेकपा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘देशको आवश्यकता बनिसक्यो, मिलौँ’ भन्दै सहकार्यको प्रस्ताव गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसको सभापति बनेपछि गगनकुमार थापा पहिलोपटक ओलीलाई भेट्न गुण्डु पुगेका छन्।


प्रतिक्रिया