काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ करिब एक घण्टा भेटवार्ता भएको छ।
दुई नेताबीच मधेस प्रदेशमा सरकार गठन र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ।
तर भेटवार्ताका क्रममा कांग्रेसको आधिकारिकता विवादसँग जोडिएर सार्वजनिक भएको १८ करोड रुपैयाँको डिलसम्बन्धी बयानबारे पनि ओलीले थापासँग चासो राखेका थिए।
स्रोतका अनुसार भेटमा ओलीले थापालाई ‘कांग्रेसको आधिकारिकता लिने क्रममा १८ करोड रुपैयाँको डिल भएकै हो?’ भन्दै प्रश्न गरेका थिए।
जवाफमा थापाले हाँस्दै यस्तो विषय सोच्नसमेत नसकिने बताएर उक्त आरोप पूर्णतः षड्यन्त्रयुक्त भएको जवाफ दिएका थिए।
उता गगनको सचिवालयले दुई नेताबीच मधेस प्रदेशको सरकार गठन र पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल भएको जानकारी दिएको छ।
एमालेको उच्च स्रोतले पनि भेटमा मधेस प्रदेश सरकार गठनसँगै पछिल्लो समसामयिक राजनीतिक विषयमा कुराकानी भएको पुष्टि गरेको छ।
भेटबारे जानकारी दिँदै एमाले उच्च स्रोतले भन्यो, ‘विशेष गरेर मधेश प्रदेश सरकार गठनबारे कुराकानी भएको हो। त्यसका अलावा अहिले उठिरहेको कुरा र विपक्षी दलहरूको मोर्चाबन्दी र सहकार्यका विषयमा पनि कुराकानी भयो।’
पछिल्लो समय नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा बिचौलिया इनम सापकोटाले दिएको बयानले सनसनी मच्चाएको छ । उक्त बयानमा कांग्रेसको आधिकारिकताका लागि १८ करोड रुपैयाँको डिल भएको कुराले राजनीतिलाई तरंगित बनाइदिएको छ ।
असोज १४ गते पक्राउ परेर हिरासतमा रहेका सापकोटाले बयानका क्रममा कांग्रेसको आधिकारिकता गगन पक्षले प्राप्त गर्ने प्रक्रियामा सर्वोच्च अदालतमा १८ करोड रुपैयाँको डिल भएको दाबी गरेका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायतसँग भएको कुराकानीबाट आफूले उक्त विषयको जानकारी पाएको सापकोटाको बयानमा उल्लेख छ।
यही बयानसँग सम्बन्धित अडियोसमेत मंगलबार सार्वजनिक भएको छ। यद्यपि, उक्त अडियोबारे अनेकौं प्रश्न उठिरहेका छन् ।
यस प्रकरणमा थापा र नेपाली कांग्रेसले भने आफूहरूमाथि वालेन्द्र शाह नेतृत्वको सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै आएका छन्। कांग्रेसको आन्तरिक विवादसँग जोडिएको यो विषयले अहिले नेपालको समग्र राजनीतिक वृत्त तताएको छ।


प्रतिक्रिया