काठमाण्डु– आउँदो शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’ को प्रदर्शन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
निर्माण टिमका एक सदस्यका अनुसार गृह मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई चलचित्रको प्रदर्शन रोक्न निर्देशन दिएको हो । सञ्चार मन्त्रालयले पनि निर्माण टिमलाई मौखिक रूपमा यसबारे जानकारी गराइसकेको बताइएको छ ।
हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले चलचित्रमा पाँच पाण्डव र द्रौपदीको चरित्रलाई गलत ढंगले प्रस्तुत गरिएको आरोप लगाउँदै सञ्चार मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले चलचित्रको प्रदर्शन रोक्न माग गर्दै आएका छन् ।
चलचित्रले महाभारतको गलत व्याख्या गरेको र द्रौपदीलाई आइटम गीतमा नचाइएको भन्दै सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ । यद्यपि, निर्माण पक्षले भने चलचित्रले धार्मिक सहिष्णुतामा खलल पुर्याउने उद्देश्य नराखेको भन्दै आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।
रोचक पक्ष के छ भने चलचित्रले प्रदर्शनका लागि आवश्यक सेन्सर प्रक्रिया पूरा गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र जाँच समितिले यसलाई युनिभर्सल (यू) सर्टिफिकेटसमेत प्रदान गरिसकेको छ ।
सरकारको पछिल्लो निर्देशनपछि निर्धारित मितिमै चलचित्र प्रदर्शन गर्ने वातावरण बनाउन निर्माण पक्षले सरकारसँग वार्ता गर्ने तयारी गरेको छ ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौलालगायत कलाकारको अभिनय रहेको छ । सुशील पौडेलले पटकथा लेखेको चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया