काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले बेहोरेको पराजय स्वीकार गरेका छन् । उनले आफ्नो हारमा इरान युद्धको भूमिका रहेको बताएका छन् ।
रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदन गुमाएपछि पहिलोपटक सार्वजनिक रूपमा बोलेका ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको टिप्पणीलाई धेरै हदसम्म सत्य भनेको बीबीसीले उल्लेख गरेको छ ।
भान्सले इरान युद्धका कारण रिपब्लिकन पार्टीले निर्वाचनमा ठूलो क्षति बेहोरेको बताएका थिए । ट्रम्पले भने युद्धका कारण इन्धनको मूल्य बढ्नु नै पराजयको प्रमुख कारण रहेको स्वीकार गरेका हुन् ।
दोस्रो कार्यकालको प्राथमिकतामध्ये एक रहेको ह्वाइट हाउसको नयाँ बलरुम निर्माणस्थलबाट ट्रम्पले बिहीबार सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले निर्वाचन परिणामबारे केही बोलेनन् । तर, त्यसपछि पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले निर्वाचन र सरकारका आगामी कामबारे धारणा राखे ।
डेमोक्र्याटहरूसँग सहकार्य गर्न आफू तयार रहेको पनि उनले उल्लेख गरे । तर, उनीहरूले अवरोध सिर्जना गर्ने खालको भूमिका खेल्न नहुने उनको सर्त थियो । डेमोक्र्याटहरूले ल्याउने विधेयक रोक्ने अधिकार भने आफूसँग सुरक्षित रहेको ट्रम्पको दाबी छ ।
यता मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन् । यसले राष्ट्रपति ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उनको विधायिकी योजनामा अवरोध पुग्ने र प्रशासनमाथि अनुसन्धान बढ्ने देखिएको छ ।
जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिबिम्बित भएको छ ।
डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना र उत्तर क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन् ।
दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटहरूले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमाथि अनुसन्धान गर्न तथा ट्रम्पका विधेयक र सरकारी नियुक्तिमा अवरोध गर्न सक्नेछन् । प्रतिनिधिसभाका नेता हाकिम जेफ्रीज आगामी जनवरीमा पहिलो अश्वेत सभामुख बन्न सक्ने सम्भावना छ ।
यसले आगामी दुई वर्ष अमेरिकी राष्ट्रपति र कङ्ग्रेसबीच राजनीतिक टकराव बढ्न सक्ने सङ्केत गरेको छ ।


प्रतिक्रिया