इरान युद्धले हरायो ट्रम्पलाई, अझै भन्दैछन् : मौका पाए फेरि आक्रमण गर्छु

इरान युद्धले हरायो ट्रम्पलाई, अझै भन्दैछन् : मौका पाए फेरि आक्रमण गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका कारण मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोर्नुपरेको स्वीकार गरेका छन्।

तर उनले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न युद्धबाहेक अर्को विकल्प नभएको दाबी गर्दै फेरि अवसर पाए आक्रमण गर्ने बताएका छन्।

अमेरिकी समयअनुसार बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्धका कारण केही समयका लागि पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसको असर निर्वाचनमा परेको स्वीकार गरेका सीएनबीले जनाएको छ।

‘इरान युद्धका कारण केही समयका लागि पेट्रोलको मूल्य बढेको थियो। तर, मलाई फेरि निर्णय गर्ने मौका मिल्यो भने म फेरि पनि यही निर्णय लिनेछु’, ट्रम्पले भने।

इरानसँगको युद्धलाई चुनावी पराजयको एउटा कारणका रूपमा स्वीकार गरे पनि ट्रम्पले आफ्नो सैन्य निर्णयको बचाउ गरेका छन्। इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नका लागि युद्ध आवश्यक भएको उनको तर्क छ।

तल्लो सदनमा डेमोक्रेट्सको स्पष्ट बहुमत

मध्यावधि निर्वाचनको परिणामसँगै अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा ट्रम्पको रिपब्लिकन पार्टीले बहुमत गुमाएको छ।

कुल ४३५ सदस्यीय तल्लो सदनका सबै सिटमा निर्वाचन भएको थियो। प्राप्त परिणामअनुसार विपक्षी डेमोक्रेटिक पार्टीले २४२ सिट जित्दा रिपब्लिकन पार्टीले १५१ सिटमा विजय हासिल गरेको छ। बाँकी ४२ सिटको मतगणना जारी रहेको छ।

यससँगै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत सुनिश्चित गरेको छ।

माथिल्लो सदनमा पनि डेमोक्रेट्सको अग्रता

अमेरिकी संसद्को माथिल्लो सदन सिनेटका १०० सिटमध्ये ३५ सिटका लागि निर्वाचन भएको थियो। तीमध्ये ३३ सिटको परिणाम सार्वजनिक हुँदा डेमोक्रेटिक पार्टीले २० र रिपब्लिकन पार्टीले १३ सिट जितेका छन्। बाँकी दुई सिटको मतगणना जारी छ।

प्राप्त परिणामअनुसार सिनेटमा डेमोक्रेटिक पार्टीसँग ५४ र रिपब्लिकन पार्टीसँग ४४ सिट रहेको छ।

गभर्नर निर्वाचनमा पनि डेमोक्रेट्स अगाडि

अमेरिकाका ३६ राज्यमा गभर्नर पदका लागि भएको निर्वाचनमा ३४ राज्यको परिणाम सार्वजनिक भएको छ। तीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवारले २२ र रिपब्लिकन पार्टीका उम्मेदवारले १२ राज्यमा जित हासिल गरेका छन्। दुई राज्यको मतगणना जारी छ।

जिपछि डेमोक्रेट्सलाई वाचा पूरा गर्ने चुनौती

मध्यावधि निर्वाचनमा ठूलो सफलता हासिल गरेपछि डेमोक्रेटिक पार्टीसामु अब चुनावी प्रतिबद्धता पूरा गर्ने चुनौती देखिएको छ। पार्टी नेताहरूले महँगी नियन्त्रण र इरानसँगको युद्ध अन्त्यलाई आफ्नो प्राथमिकता बताएका छन्।

तल्लो सदनमा डेमोक्रेटिक पार्टीका नेता हाकिम जेफ्रिजले आफ्नो पार्टीले आम नागरिकका पक्षमा काम गर्ने बताएका छन्। उनी हाउस अफ रिप्रिजेन्टेटिभ्सको आगामी सभामुख बन्ने सम्भावना छ। निर्वाचित भए उनी उक्त पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति हुनेछन्।

युद्ध अन्त्य हुने अपेक्षाले कच्चा तेलको मूल्य घट्यो

मध्यावधि निर्वाचनको परिणाम सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।

इरानसँगको युद्ध अन्त्य हुन सक्ने अपेक्षाले एसियाली बजारमा बिहीबार ब्रेन्ट क्रुडको मूल्य ०.९ प्रतिशत घटेर प्रतिब्यारेल ९३.७४ डलर पुगेको छ। त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य करिब १.५ प्रतिशत घटेर प्रतिब्यारेल ८६.८३ डलरमा झरेको छ।

अलास्काको सिनेट सिटमा मतगणना जारी

अलास्का राज्यको सिनेट सिटका लागि भएको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर ड्यान सुलिभानलाई करिब ६०० मतले पछि पारेकी छन्। त्यहाँ मतगणना जारी छ।

यता अमेरिकी मध्यावधि निर्वाचनको परिणामलाई क्यानडामा पनि चासोका साथ हेरिएको छ। डेमोक्रेटिक पार्टीको जितलाई राष्ट्रपति ट्रम्पले लगाएको भन्सार शुल्कप्रति अमेरिकी मतदाताको असन्तुष्टिका रूपमा व्याख्या गरिएको छ।

क्यानडाको ओन्टारियो राज्यका प्रिमियर डग फोर्डले बुधबार निर्वाचन परिणामप्रति खुसी व्यक्त गर्दै यो क्यानडाको पनि जित भएको टिप्पणी गरेका छन्।

यद्यपि, निर्वाचन परिणामसँगै क्यानडाले तत्काल अमेरिकी भन्सार शुल्कबाट राहत पाउने सम्भावना भने देखिएको छैन। दुई देशबीच व्यापार वार्ता पुनः सुरु भएको छ र क्यानडाले अमेरिकासँग राम्रो व्यापार सम्झौताको अपेक्षा गरेको छ।

अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टी बलियो भए पनि ट्रम्पले राष्ट्रपतिको कार्यकारी आदेशमार्फत लगाएका अधिकांश भन्सार शुल्कमा त्यसको तत्काल ठूलो प्रभाव नपर्ने विश्लेषण गरिएको छ।