ट्रम्पको पराजयका पाँच प्रमुख कारण

ट्रम्पको पराजयका पाँच प्रमुख कारण

दुवै सदनमा डेमोक्रेटको नियन्त्रण, ट्रम्पको दोस्रो कार्यकालप्रति मतदाताको असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा प्राप्त गरेको राजनीतिक शक्तिलाई मध्यावधि निर्वाचनमार्फत ठूलो धक्का लागेको छ ।

मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेपछि ट्रम्पको आगामी दुई वर्षको राजनीतिक यात्रा थप चुनौतीपूर्ण बन्ने देखिएको छ ।

निर्वाचनमा डेमोक्रेटिक पार्टीले परम्परागत रूपमा रिपब्लिकनको प्रभाव रहेका टेक्सास, साउथ क्यारोलाइना, कन्सास र ओहायो जस्ता राज्यमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ ।

यसले निर्वाचनलाई सामान्य सत्ता परिवर्तनको घटनाभन्दा पनि ट्रम्प प्रशासनको कार्यशैली, आर्थिक नीति र विदेश नीतिप्रतिको जनमतसंग्रहका रूपमा स्थापित गरेको छ ।

ट्रम्पले निर्वाचनअघि मतदातालाई आफू नै उम्मेदवार भएको ठानेर मतदान गर्न आग्रह गरेका थिए । तर, त्यसको परिणाम रिपब्लिकन पार्टीका लागि प्रतिकूल बन्यो । रोयटर्सका अनुसार मतदाताको असन्तुष्टि, महँगी र ट्रम्पको लोकप्रियतामा आएको गिरावटले डेमोक्रेटिक पार्टीको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

आखिर ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीले किन यस्तो पराजय भोग्नुप¥यो ? यसका पछाडि मुख्यत पाँच कारण देखिन्छन् ।

महँगी र आर्थिक असन्तुष्टि

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा अमेरिकी अर्थतन्त्र सुधार्ने, महँगी नियन्त्रण गर्ने र सर्वसाधारणको जीवनयापन सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यही मुद्दा उनको चुनावी सफलताको प्रमुख आधारसमेत बनेको थियो ।

तर, सत्तामा पुगेपछि सर्वसाधारणले अपेक्षा गरेअनुसार आर्थिक राहत महसुस गर्न सकेनन् । खाद्यान्न, इन्धन, स्वास्थ्य सेवा र दैनिक उपभोग्य वस्तुको मूल्यमा देखिएको दबाबले आम अमेरिकीको जीवन प्रभावित बनायो ।

निर्वाचनपछिको मतदाता सर्वेक्षणअनुसार करिब ९० प्रतिशत मतदाताले जीवनयापनको लागतलाई आफ्नो मतदान निर्णयमा महत्त्वपूर्ण वा प्रमुख विषय मानेका थिए । करिब दुईतिहाइ मतदाताले बढ्दो मूल्यका लागि ट्रम्पलाई जिम्मेवार ठहर्‍याएका थिए ।

ट्रम्प प्रशासनले लागू गरेका आयात शुल्क (ट्यारिफ) नीतिले पनि उपभोग्य वस्तुको मूल्य बढाउन सहयोग गरेको मतदाताको बुझाइ देखियो । ट्रम्पले अर्थतन्त्र सुधार भइरहेको दाबी गरिरहँदा नागरिकले दैनिक जीवनमा त्यसको सकारात्मक प्रभाव अनुभव गर्न नसक्नु रिपब्लिकन पार्टीका लागि महँगो साबित भयो ।

यसरी अर्थतन्त्र सुधार्ने वाचासहित सत्तामा पुगेका ट्रम्पले मतदाताको आर्थिक अपेक्षा पूरा गर्न नसकेको सन्देश निर्वाचन परिणामले दिएको छ ।

लोकप्रियतामा आएको गिरावट

अमेरिकामा मध्यावधि निर्वाचनलाई सत्तारूढ राष्ट्रपतिको कार्यसम्पादनको मूल्याङ्कन गर्ने अवसरका रूपमा पनि लिइन्छ ।

यसपटक पनि मतदाताले ट्रम्पको दोस्रो कार्यकालप्रतिको आफ्नो धारणा निर्वाचनमार्फत व्यक्त गरेको देखिन्छ ।

निर्वाचनअघि सार्वजनिक भएका विभिन्न सर्वेक्षणमा ट्रम्पको लोकप्रियता घट्दै गएको देखिएको थियो । रोयटर्स–इप्सोसले अक्टोबरमा गरेको सर्वेक्षणमा उनको कार्यसम्पादनप्रति सन्तुष्ट हुने अमेरिकीको संख्या करिब ३१ प्रतिशतमा झरेको थियो ।

निर्वाचनपछिको सर्वेक्षणले पनि ट्रम्पप्रतिको असन्तुष्टि रिपब्लिकन उम्मेदवारहरूको मतमा प्रतिबिम्बित भएको देखाएको छ । ट्रम्पको कार्यसम्पादनप्रति कडा असन्तुष्टि जनाउने मतदातामध्ये ठूलो हिस्साले डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गरेको थियो ।
यसबाट एउटा महत्त्वपूर्ण राजनीतिक सन्देश देखिन्छ–राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई समर्थन गरेका मतदातासमेत मध्यावधि निर्वाचनमा उनको पार्टीका उम्मेदवारबाट टाढिन सक्छन् ।

इरान युद्ध र विदेश नीतिको प्रभाव

ट्रम्प प्रशासनको विदेश नीति पनि निर्वाचनमा प्रभाव पार्ने अर्को महत्त्वपूर्ण विषय बन्यो । विशेषगरी इरानसँगको युद्ध र त्यसले अमेरिकी अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय सुरक्षामा पारेको प्रभावलाई मतदाताले चासोका साथ हेरे ।

युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा आपूर्तिसम्बन्धी अनिश्चितता बढ्नु, इन्धनको मूल्य र आर्थिक जोखिमप्रति चिन्ता पैदा हुनुजस्ता विषयले अमेरिकी मतदाताको ध्यान ताने ।

निर्वाचनसम्बन्धी सर्वेक्षणमा एकतिहाइभन्दा बढी मतदाताले इरान युद्धलाई प्रमुख राष्ट्रिय मुद्दाका रूपमा लिएका थिए । तीमध्ये ६० प्रतिशतभन्दा बढीले प्रतिनिधिसभामा डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गरेका थिए ।

ट्रम्पले राष्ट्रिय सुरक्षा र अमेरिकी प्रभाव विस्तारलाई आफ्नो विदेश नीतिको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि युद्धको लागत र त्यसको आर्थिक परिणामप्रति नागरिकको चिन्ता कम गर्न सकेनन् ।

यसले विदेश नीतिमा राष्ट्रपतिको निर्णय र त्यसको प्रत्यक्ष आर्थिक प्रभावबीचको सम्बन्ध अमेरिकी मतदाताका लागि महत्त्वपूर्ण रहेको देखाएको छ ।

प्रशासनको प्राथमिकतामाथि प्रश्न

ट्रम्प प्रशासनको प्राथमिकता र सरकारी कामकारबाहीप्रति उठेका प्रश्न पनि निर्वाचनमा प्रभावकारी बने ।

अमेरिकी मतदातामाझ सरकारी भ्रष्टाचार, प्रशासनिक पारदर्शिता र राष्ट्रपतिको अधिकारमाथि निगरानीको विषयले महत्त्व पाएको थियो ।

एसोसिएटेड प्रेसको निर्वाचनपछिको मतदाता सर्वेक्षणअनुसार भ्रष्टाचार र प्रशासनिक प्राथमिकताप्रति असन्तुष्टि जनाउने ठूलो हिस्साले डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गरेको थियो । त्यस्तै, करिब ७० प्रतिशत मतदाताले कंग्रेसले राष्ट्रपतिको शक्तिमाथि पर्याप्त निगरानी गर्न नसकेको धारणा राखेका थिए ।

यसले अमेरिकी लोकतान्त्रिक प्रणालीमा कार्यकारी अधिकारको नियन्त्रण तथा सन्तुलनको विषय निर्वाचनको महत्त्वपूर्ण एजेन्डा बनेको देखाउँछ ।

ट्रम्पको नेतृत्वमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा बहुमत पाएको अवस्थामा राष्ट्रपतिको राजनीतिक एजेन्डालाई अघि बढाउन सहज थियो । तर, मतदाताले अब कङ्ग्रेसमा फरक राजनीतिक शक्तिको उपस्थिति चाहेको सन्देश दिएका छन् ।

मतदाताको असन्तुष्टि

निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयको अर्को कारण उम्मेदवार छनोट र चुनावी रणनीतिमा देखिएको कमजोरी पनि हो ।
ट्रम्पले आफ्नो निकटता र राजनीतिक समर्थनका आधारमा अघि सारेका कतिपय उम्मेदवारले अपेक्षित सफलता हासिल गर्न सकेनन् । साउथ क्यारोलाइना, नर्थ क्यारोलाइना र टेक्सासलगायतका राज्यमा ट्रम्पको समर्थन प्राप्त उम्मेदवार पराजित हुनु त्यसको उदाहरण हो ।

यसले ट्रम्पको व्यक्तिगत लोकप्रियता र चुनावी समर्थनलाई सबै उम्मेदवारका लागि समान रूपमा मतमा रूपान्तरण गर्न नसकिने देखाएको छ ।

त्यसैगरी, युवा, हिस्पानिक र स्वतन्त्र मतदाताको समर्थन डेमोक्रेटिक पार्टीतर्फ फर्किनु पनि रिपब्लिकन पार्टीका लागि चुनौती बन्यो ।

वासिङ्टन पोस्ट र एनओआरसीको निर्वाचनपछिको ९० हजारभन्दा बढी मतदाता समेटिएको सर्वेक्षणअनुसार युवा मतदातामा डेमोक्रेटिक पार्टीको समर्थन उल्लेखनीय रूपमा बढेको थियो ।

सन् २०२४ मा ट्रम्पलाई समर्थन गरेका केही मतदाता पनि यसपटक डेमोक्रेटिक उम्मेदवारतर्फ आकर्षित भए ।
यसले रिपब्लिकन पार्टीको परम्परागत मताधारमा समेत परिवर्तन आएको संकेत गरेको छ ।

आगामी दुई वर्ष कति चुनौतीपूर्ण ?

अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत कायम भएपछि ट्रम्पको दोस्रो कार्यकालको बाँकी दुई वर्ष राजनीतिक रूपमा महत्त्वपूर्ण बन्नेछ ।

प्रतिनिधिसभा र सिनेटमा डेमोक्रेटको नियन्त्रण हुँदा ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय निगरानी, छानबिन र सुनुवाइ बढ्न सक्छ । प्रशासनका अधिकारी, सरकारी खर्च, नीतिगत निर्णय र राष्ट्रपतिसँग सम्बन्धित विभिन्न विषयमा कंग्रेसले अनुसन्धान अघि बढाउन सक्नेछ ।

ट्रम्पले अघि सारेका विधेयक र नीतिगत कार्यक्रम पारित गराउन पनि कठिनाइ हुनेछ । यद्यपि राष्ट्रपतिसँग कङ्ग्रेसबाट पारित विधेयकमा भिटो प्रयोग गर्ने संवैधानिक अधिकार छ । त्यसैले डेमोक्रेटको बहुमतले ट्रम्पको सम्पूर्ण कार्यसूची रोक्न सक्ने अवस्था भने छैन ।

अर्कोतर्फ डेमोक्रेटिक पार्टीका लागि पनि यो जित चुनौतीरहित छैन । निर्वाचन परिणामलाई ट्रम्पप्रतिको असन्तुष्टिको अभिव्यक्तिका रूपमा बुझ्न सकिए पनि त्यसलाई डेमोक्रेटिक पार्टीको नीतिप्रतिको पूर्ण समर्थन मान्न मिल्दैन । मतदातामाझ दुवै प्रमुख दलप्रति असन्तुष्टि रहेको सर्वेक्षणले देखाएका छन् ।

अब डेमोक्रेटिक पार्टीले महँगी नियन्त्रण, स्वास्थ्य सेवा, रोजगारी र आर्थिक सुधारका विषयमा ठोस परिणाम दिनुपर्ने दबाब हुनेछ ।

ट्रम्पविरुद्धको असन्तुष्टि, डेमोक्रेटका लागि अवसर

सन् २०२६ को अमेरिकी मध्यावधि निर्वाचनले एउटा महत्त्वपूर्ण राजनीतिक सन्देश दिएको छ । राष्ट्रपतीय निर्वाचनमा प्राप्त जनमत स्थायी हुँदैन र आर्थिक तथा राजनीतिक प्रतिबद्धता पूरा गर्न नसक्दा सत्तारूढ दलले दुई वर्षमै मतदाताको विश्वास गुमाउन सक्छ ।

ट्रम्पको पराजयलाई केवल विपक्षी दलको चुनावी सफलताका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यो परिणाम महँगी, आर्थिक असुरक्षा, विदेश नीतिप्रतिको असन्तुष्टि, प्रशासनिक जवाफदेहिता र नेतृत्वको लोकप्रियतासँग जोडिएको छ ।

ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्दै डेमोक्रेटसँग काम गर्न तयार रहेको बताएका छन् । तर, उनले यो परिणामलाई आफ्नो व्यक्तिगत पराजयका रूपमा व्याख्या गर्न अस्वीकार गर्दै उम्मेदवार छनोटको कमजोरीलाई पनि जिम्मेवार ठहर्‍याएका छन् ।

अबको प्रश्न डेमोक्रेटिक पार्टीले कंग्रेसमा प्राप्त बहुमतलाई कसरी उपयोग गर्छ र ट्रम्पले विपक्षीको नियन्त्रणमा रहेको कंग्रेससँग कसरी काम गर्छन् भन्ने हो ।

अमेरिकी राजनीतिमा यो निर्वाचनले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि समेत नयाँ राजनीतिक समीकरण निर्माण गर्ने संकेत दिएको छ ।