गगनलाई कांग्रेस केन्द्रीय सदस्य बिनिताको ढाडस- नबिराउनु, नडराउनु

गगनलाई कांग्रेस केन्द्रीय सदस्य बिनिताको ढाडस- नबिराउनु, नडराउनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य बिनिता खड्काले पार्टी सभापति गगन थापामाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।

बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले आरोप लाग्दैमा कोही दोषी नहुने र दोष प्रमाणित गर्ने जिम्मेवारी सम्बन्धित निकायको भएको बताएकी छन्। अनुसन्धानको निष्कर्ष आउनुअघि नै कसैलाई अपराधीझैँ प्रस्तुत गर्नु न्यायसंगत नहुने उनको भनाइ छ।

‘आदरणीय पार्टी सभापतिज्यू, नबिराउनु, नडराउनु’ भन्दै उनले मिथ्या आरोप र विवादमा तानिँदा व्यक्तिले भोग्नुपर्ने मानसिक, सामाजिक र राजनीतिक पीडा आफूले पनि अनुभव गरेको उल्लेख गरेकी छन्।

‘आरोप लगाउन त केही क्षण पर्याप्त हुन्छ, तर कसैको प्रतिष्ठा, संघर्ष र जीवनमा परेको चोट मेटाउन वर्षौं लाग्न सक्छ,’ उनले लेखेकी छन्।

खड्काले सरकारलाई पूर्वाग्रहरहित अनुसन्धान गर्न आग्रह गर्दै राजनीतिक विचार, पद वा व्यक्तिसँगको सम्बन्धका आधारमा कसैलाई दोषी ठहर गर्ने छुट राज्यलाई नभएको बताएकी छन्। राज्यको शक्ति सत्य पत्ता लगाउन प्रयोग हुनुपर्ने, कसैलाई बदनाम गर्न वा राजनीतिक प्रतिशोध साँध्न नहुने उनको भनाइ छ।

उनले अनुसन्धानका नाममा कसैलाई दबाबमा पार्ने वा सार्वजनिक रूपमा प्रतिष्ठा समाप्त पार्ने काम स्वीकार्य नहुने पनि उल्लेख गरेकी छन्।

‘म कसैका लागि फरक कानुन मागिरहेकी छैन। म सबैका लागि एउटै न्याय मागिरहेकी छु,’ खड्काले लेखेकी छन्, ‘सभापतिज्यूमाथि अन्याय भएको छ भने पार्टीभित्र र बाहिर सबैले तथ्य, प्रमाण र न्यायको पक्षमा आवाज उठाउनुपर्छ।’

उनले पार्टीभित्र र बाहिरका नेता तथा कार्यकर्तालाई मौन नबस्न र सत्यको पक्षमा उभिन आग्रह गरेकी छन्। राजनीतिमा असहमति, प्रतिस्पर्धा र आलोचना स्वाभाविक भए पनि आरोपकै भरमा कसैलाई समाप्त पार्ने राजनीति स्वीकार्य नहुने उनको तर्क छ।

‘यो देशका प्रत्येक नागरिकले आरोप होइन, प्रमाणका आधारमा न्याय पाउने वातावरण बन्नुपर्छ,’ उनले भनेकी छन्।