गाउँलेको चरित्रमा अनमोल केसी, फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

गाउँलेको चरित्रमा अनमोल केसी, फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ।

आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको निर्माण टिमले रिलिजको एक साताअघि ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरूको चरित्र, कथावस्तु र परिवेशलाई प्रस्तुत गरिएको छ। विशेषगरी सुपरस्टारको छवि बनाएका अनमोल पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन्।

शहरी परिवेशमा हुर्किएका अनमोलले फिल्मको छायांकनका क्रममा नेपाली समाज, संस्कृति र ग्रामीण जीवनलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।

फिल्मको ट्रेलरमा एउटै कथालाई दुई पुस्ताको माध्यमबाट प्रस्तुत गरिएको छ। करिब ४० वर्षअघिको नेपाली समाजको परिस्थिति र तत्कालीन प्रेमकथालाई फिल्ममा समेटिएको छ।

फिल्मका निर्देशक भुवन केसी स्वयम् पनि अभिनयमा देखिएका छन्। ४० वर्षअघिको कथामा उनको जोडीका रूपमा अभिनेत्री गरिमा पन्त प्रस्तुत भएकी छन्। त्यस्तै, नयाँ पुस्ताको प्रेमकथालाई अनमोल केसी र प्रिन्सी खतिवडामार्फत अगाडि बढाइएको छ।

ट्रेलरमा पात्रहरूको प्रस्तुति, पार्श्वध्वनि, छायांकन र सम्पादन पक्षलाई दर्शकले रुचाएको निर्माण टिमको दाबी छ। ट्रेलर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो बढेको छ।

सनराइज पिक्चर्स प्रालि र भविष्य फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन्।

विवेक थापा सहनिर्माता रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाइ, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय छ।

फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका छन्। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखनमा सहकार्य गरेका छन्।

रोमन बज्राचार्यको पार्श्वसंगीत रहेको फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन्।

दुई पुस्ताको प्रेमकथा र ग्रामीण नेपाली समाजको परिवेशलाई पर्दामा उतार्ने प्रयास गरिएको ‘बाटुलो जून’ कात्तिक २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।