इटहरी- नेपाली सङ्गीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ। इटहरी रङ्गशालामा कात्तिक १८ गते सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी दर्शक सहभागी भए।
नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न पूर्वी नेपालका विभिन्न स्थानबाट सङ्गीतप्रेमी इटहरी रङ्गशाला पुगेका थिए। लामो समयदेखि रेडियो, टेलिभिजन र डिजिटल माध्यमबाट नेपथ्यका गीत सुन्दै आएका दर्शकले आफ्नै सहरमा ब्यान्डलाई प्रत्यक्ष हेर्न पाउँदा उत्साहपूर्वक साथ दिए।
पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा कार्यक्रम सम्पन्न भएको हो। करिब १० हजार दर्शक क्षमताको व्यवस्थापनसहित तयारी गरिएको रङ्गशालामा अपेक्षाभन्दा बढी दर्शक उपस्थित भएको आयोजकले जनाएको छ।
तीन दशकभन्दा लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। ब्यान्डले ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजारमा’, ‘रेशम’ र ‘भेडाको ऊनजस्तो’ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शकले पनि स्वरमा स्वर मिलाएका थिए।
लोकभाका र आधुनिक वाद्यवादनको संयोजनमार्फत नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएको नेपथ्यको इटहरीमा यो पहिलो प्रत्यक्ष प्रस्तुति हो। त्यसैले पनि कन्सर्टलाई पूर्वी नेपालका सङ्गीतप्रेमीका लागि विशेष अवसरका रूपमा हेरिएको थियो।
आयोजकले यसअघि नै नेपथ्यको इटहरी प्रस्तुति पुनः नहुन पनि सक्ने सम्भावना व्यक्त गरेका थिए। यसले पनि कार्यक्रमप्रति दर्शकको चासो बढाएको थियो। पहिलोपटक इटहरी आएको नेपथ्यको प्रस्तुतिले सहरलाई सांगीतिक उत्सवमा परिणत गरेको छ।






प्रतिक्रिया