काठमाण्डु– प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि डलर तथा सुन ठगी र लुटपाटमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा बिहीबार साँझ करिब ६ः३० बजे प्रहरीले ३१ वर्षीय सुजन तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तामाङले सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्ने गरेको खुलेको छ ।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा तामाङले धारिलो हतियारले आक्रमण गरी भाग्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरीले पहिले हवाई फायर गरेको र त्यसले पनि नियन्त्रणमा लिन नसकेपछि घुँडामुनि गोली प्रहार गरेको जनाएको छ ।
गोली लागेर घाइते भएका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन् ।


प्रतिक्रिया