काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली चाडपर्वले मानव र पशुपन्छीबीचको आत्मीयता, प्रेम तथा सहअस्तित्वको सन्देश दिने बताएका छन्।
यमपञ्चकको पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाली मौलिक संस्कृति र परम्पराको महत्त्व उजागर गरेका हुन्।
काग तिहारका अवसरमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने परम्पराले प्राचीन नेपाली समाजको विश्वास र सांस्कृतिक मान्यतालाई प्रतिबिम्बित गर्ने उनको सन्देशमा उल्लेख छ। आधुनिक सञ्चारको विकास हुनुअघि कागको आवाजलाई समाचार वा पाहुनाको आगमनसँग जोडेर हेर्ने चलन रहेको उनले स्मरण गराएका छन्।
‘आज हामी यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्छौं। घरको आँगनमा काग कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै खबरको प्रतीक्षा गर्ने र ‘काकेन दधि भक्षितम्’ भन्दै दही–भात दिएर यमराजसमक्ष शुभ सन्देश पुर्याउने कामना गर्ने प्रचलन छ। आधुनिक सञ्चार नभएको प्राचीन कालमा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिन्थ्यो।’ उनले लेखेका छन् ।
प्रधानमन्त्री शाहले यमपञ्चकमा परिवारका सदस्यको सुख, शान्ति र सुरक्षाको कामना गर्दै यमदीपदान गर्ने परम्पराको पनि चर्चा गरेका छन्। नेपाली संस्कृतिमा यमराजलाई मृत्युसँग मात्र नभई सत्य, न्याय र धर्मका प्रतीकका रूपमा समेत लिने गरिएको उनको भनाइ छ।
त्यस्तै, धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैको सुस्वास्थ्य र निरोगी जीवनको कामना गरेका छन्।
‘समुद्र मन्थनबाट अमृत कलश लिएर प्रकट हुनुभएको आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै सम्पूर्णमा निरोगी जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु।’ उनले लेखेका छन्
भोलि मनाइने कुकुर तिहारलाई पनि उनले मानव र पशुपन्छीबीचको सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा व्याख्या गरेका छन्। घरको सुरक्षा, अनुसन्धान तथा उद्धारलगायतका काममा कुकुरले पुर्याउँदै आएको योगदानको सम्मान गर्ने यस पर्वले अन्य जीवप्रतिको प्रेम र कृतज्ञता बढाउने विश्वास उनले व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले चाडपर्वले समाजमा सत्य, न्याय र इमानदारीको भावना विकास गर्दै सुशासन तथा जनपक्षीय कार्यप्रति प्रेरित गर्नुपर्ने सन्देश दिएका छन्।
उनले भने सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिओस्।


प्रतिक्रिया