काठमाण्डु– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्।
सरकार सत्ता कब्जा गर्दै लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै उनले त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिनसमेत पछि नपर्ने चेतावनी दिइन्।
नेपाल विद्यार्थी संघ गोरखा–काठमाण्डु सम्पर्क समितिले शनिबार काठमाण्डुमा गरेको दीपावली, नेपाल संवत् ११४७ तथा छठको शुभकामना आदानप्रदानमा बोल्दै महामन्त्री पन्तले मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको बताइन्।
उनले मुलुकका विकराल समस्या एकातिर थन्क्याएर लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा पार्टीविरुद्ध राज्यशक्ति प्रयोग भइरहेको भन्दै आपत्ति जनाइन्। प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काम लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।
सरकार दुईतिहाइको दम्भमा अघि बढिरहेको उल्लेख गर्दै उनले लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्ने गतिविधि स्वीकार्य नहुने बताइन्। यस्ता गतिविधिविरुद्ध कांग्रेस सडकमा उत्रिन बाध्य हुने उनको चेतावनी थियो।
महामन्त्री पन्तले शिक्षाको गुणस्तर खस्किँदै गएको र युवाका लागि विदेश नै प्रमुख गन्तव्य बन्ने क्रम बढिरहेको बताइन्। युवालाई स्वदेशमै भविष्य देखाउन सरकारले आवश्यक काम गर्न नसकेको उनको आरोप थियो।
कांग्रेसले युवालाई विदेश होइन, स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने बताउँदै उनले पार्टीभित्रको परिवर्तन अभियानले कांग्रेसलाई युवामय बनाएको उल्लेख गरिन्। अब राष्ट्रको नेतृत्व युवाले गर्ने समय आएको उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता किरणबाबु श्रेष्ठले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीमा नयाँ उत्साह थपेको बताए। २०१७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसमाथि धरपकड र पार्टी समाप्त पार्ने प्रयास भए पनि निरन्तर संघर्षकै कारण २०४६ सालमा प्रजातन्त्र स्थापना भएको उनले स्मरण गरे।
अहिले पनि कांग्रेस र पार्टी नेतृत्वविरुद्ध प्रायोजित रूपमा गतिविधि भइरहेको उल्लेख गर्दै श्रेष्ठले लोकतन्त्रका लागि कांग्रेस आज पनि राष्ट्रिय शक्ति भएको बताए। कांग्रेसको भूमिका कायम राख्न सबै तह र तप्काका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
श्रेष्ठले बूढीगण्डकीको बाढीबाट घरबारविहीन भएकाहरूले समेत छानो र पाल नपाएको भन्दै सरकारको बेवास्ताप्रति आपत्ति जनाए। उनले प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गरे।
नेपाल विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले कांग्रेस सभापतिमात्रै नभई लाखौँ क्रियाशील सदस्यको समेत छानबिन गर्न सरकारलाई चुनौती दिइन्। बिना कारण राज्यशक्तिको आडमा तर्साउने काम नगर्न चेतावनी दिँदै उनले लोकतन्त्रमाथि खतरा उत्पन्न गर्ने गतिविधि भए नेविसंघ चुप लागेर नबस्ने बताइन्।


प्रतिक्रिया