काठमाण्डु– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा राजनीतिक प्रभाव र पहुँचलाई पूर्ण रूपमा अलग राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको कुर्सीमा बसेपछि राजनीतिक विचार, सम्बन्ध र आग्रह–पूर्वाग्रहको कुनै अर्थ नहुने बताएका हुन् ।
नेकपा एमालेकी सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई धरौटीमा छाड्ने विषयमा पाण्डे र अर्का न्यायाधीश प्रकाश खरेलबीच राय बाझिएको घटनालाई उठाउँदै न्यायिक निष्पक्षता र जवाफदेहिताबारे प्रश्न गरेकी थिइन् ।
जवाफमा पाण्डेले न्यायाधीश भएपछि आफूले राजनीतिको चप्पल अदालतबाहिरै खोल्ने गरेको बताए । ‘म अदालतमा आइसकेपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु । हामी न्यायाधीश भएपछि राजनीति गर्दैनौँ र गर्नु पनि हुँदैन । राजनीतिको चप्पललाई टाढै राख्नुपर्छ, बेन्चमा बसेपछि राजनीति कता, के भन्ने सबै कुरा आउट हुँदो रहेछ । खाली प्रमाण के छ, मिसिल के छ भन्ने कुराहरू मात्रै हुन्छन्’, उनले भने ।
भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने विषयमा आफूले तत्काल प्राप्त प्रमाणका आधारमा राय दिएको उनको स्पष्टीकरण थियो । उक्त मुद्दामा आफ्नो र अर्का न्यायाधीशको राय फरक परेको तथा तेस्रो न्यायाधीशको रायपछि अन्तिम आदेश भएको उनले स्पष्ट पारे ।‘मैले त राय मात्रै दिएको हो । मेरो राय अर्कोको फरक भयो र तेस्रो न्यायाधीशले छोड्नुभएको हो’, उनले भने ।
पाण्डेले न्यायाधीशको जिम्मेवारी राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि रहेर प्रमाणका आधारमा न्याय सम्पादन गर्नु भएको उल्लेख गर्दै अदालतको निष्पक्षता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया