काठमाण्डु–संयुक्त राष्ट्रसंघका डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन हार्टले विश्वव्यापी एआई प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन नेपालले प्रविधिमाथिको परनिर्भरता घटाउँदै स्वदेशी क्षमता विकास र डिजिटल सार्वभौमिकतामा जोड दिनुपर्ने बताएका छन्।
शनिबार राजधानीको होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै हार्टले एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकका लागि उपलब्ध अवसर, रणनीतिक सम्भावना र चुनौतीबारे धारणा राखेका हुन्।
उनले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालले स्पष्ट रणनीतिक मार्ग तय गर्नुपर्ने र डिजिटल सार्वभौमिकता कायम राख्दै प्रविधिमाथिको बढ्दो निर्भरता घटाउँदै लैजानुपर्ने बताए।
नेपालले एआई क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्न स्थानीय प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै अन्तर्राष्ट्रिय सहकार्य र आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। एआई विकासका लागि आवश्यक कम्प्युटिङ क्षमता, डेटा सेन्टर, ऊर्जा, क्लाउड सेवा तथा डिजिटल पूर्वाधारमा लगानी बढाउन पनि उनले सुझाव दिए।
विश्वमा एआई प्रविधिको विकासले तीव्रता पाइरहेको अवस्थामा नेपालले यसलाई प्रविधि प्रयोग गर्ने माध्यमका रूपमा मात्र नभई आर्थिक तथा सामाजिक रूपान्तरणको अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिए।
एआईको विश्वव्यापी प्रतिस्पर्धामा ठूला अर्थतन्त्र र प्रविधिमा अग्रणी मुलुकको मात्र वर्चस्व रहने अवस्था नरहेको उल्लेख गर्दै हार्टले नेपालजस्ता देशले पनि आफ्नै आवश्यकता, क्षमता र प्राथमिकताअनुसार एआईको विकास तथा प्रयोगमा भूमिका विस्तार गर्न सक्ने सम्भावना रहेको बताए।
नेपालको जलविद्युत् क्षमतालाई उच्च क्षमताका कम्प्युटिङ प्रणाली र डेटा सेन्टर विकाससँग जोड्न सकिने सम्भावनाबारे पनि उनले चर्चा गरे।
त्यसैगरी नेपाली भाषा र विविधतालाई समेट्ने एआई प्रविधिको विकास, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान, उद्यमशीलता र स्वदेशी नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।
एआईको विस्तारसँगै डेटा सुरक्षा, नागरिकको गोपनीयता, साइबर सुरक्षा र डिजिटल विश्वास कायम राख्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। प्रविधिको प्रयोगबाट सिर्जना हुने अवसरसँगै सम्भावित जोखिम व्यवस्थापन गर्न नेपालले उपयुक्त नीतिगत तथा संस्थागत क्षमता विकास गर्नुपर्ने उनले बताए।
एस्टन–हार्ट दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय प्रविधि नीति, डिजिटल गभर्नेन्स, एआई र साइबर सुरक्षा क्षेत्रमा सक्रिय छन्।
जारी सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरका एआई तथा प्रविधि विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारकर्मी सहभागी छन्।


प्रतिक्रिया