प्रचण्डको टिप्पणी : बालेन सरकारको काम हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला के हुन्छ टुंगो छैन

प्रचण्डको टिप्पणी : बालेन सरकारको काम हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला के हुन्छ टुंगो छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको कार्यशैलीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन् ।

सरकारको कामकारबाहीका कारण देशमा अनिश्चितता बढेको टिप्पणी गर्दै उनले जुनसुकै बेला पत्रकार पक्राउ पर्ने र कसैमाथि आक्रमण हुन सक्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

काठमाण्डुमा शनिबार आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो ३५ वर्षका राजनीतिक उपलब्धिलाई अवमूल्यन गर्ने प्रवृत्ति बढेको दुखेसो पोखे । वालेन्द्र नेतृत्वको सरकारको कार्यशैलीले विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति देशमा हाबी हुन खोजेको उनले बताएका छन् ।

‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभएको होला । विचित्र–विचित्र र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि ! त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार समातिने हो, कसमाथि हमला हुने हो, कता के हुने भन्ने टुंगो छैन,’ उनले भने ।

प्रचण्डले ३५ वर्षमा केही भएन भन्ने भाष्य विवेकहीन भएको टिप्पणी गरे । गणतन्त्र, संघीयता र समावेशिताजस्ता उपलब्धि हासिल गर्ने शक्तिलाई काम गर्ने वातावरण दिइएको भए अहिलेसम्म थप उपलब्धि हुने उनको भनाइ थियो ।

‘जसले गणतन्त्र, संघीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाउन सक्न पाएको भए अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो । दिइएको छैन । तपाईंहरू राम्रोसँग हेर्नुहोला, भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरियो,’ उनले भने ।

उनले ३५ वर्षको राजनीतिक उपलब्धिलाई नकार्दै राज्यमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी हुन खोजेको आरोपसमेत लगाएका छन् ।