काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै पौडेलले निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही गगन थापा नभई कुमार बेन हुनुपर्ने जिकिर गरेका छन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको निजी निवासमा इनम सापकोटाको मोबाइल दुई दिनसम्म राखिएको विषय उठाउँदै उनले फरेन्सिक परीक्षण हुनुअघि अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न गरेका छन्।
‘फरेन्सिक परीक्षण हुनुअघि इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो? त्यो अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा उठेका प्रश्नहरूको जवाफ कसले दिने?’, पौडेलले प्रश्न गरेका छन्।
प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्ने भन्दै उनले अनुसन्धानका क्रममा बरामद भएको डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा पुग्नुको कानुनी आधार र त्यसमा कसको निर्देशन थियो भन्ने स्पष्ट पार्न माग गरेका छन्।
उनले मोबाइलबाट सामग्री मेटिएको, स्क्रिनसट लिइएको र डिजिटल प्रमाणमा छेडछाड भएको आशङ्कासहित बिचौलियासँग प्रधानमन्त्री तथा उनको सचिवालयको सम्बन्धबारे पनि प्रश्न उठाएका छन्।
‘अनि अर्को प्रश्न पनि सोध-निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?’, उनले लेखेका छन्।
पौडेलले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्नेसम्बन्धी कानुनी व्यवस्थाको स्मरण गराउँदै यस विषयमा कानुनी सल्लाहकारसँग परामर्श गर्न प्रधानमन्त्री पक्षलाई चुनौती दिएका छन्।
कांग्रेस सभापति थापालाई पक्राउ गर्न लागिएको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै उनले विधिको शासन भएको भए कुन अपराधमा र कुन कानुनी आधारमा पक्राउ गर्न खोजिएको हो भन्ने प्रश्न उठ्नुपर्ने बताएका छन्।
‘सत्ता तिम्रो छ। सरकार तिम्रो छ। प्रहरी र प्रशासनमाथि प्रभाव तिम्रो छ। तर कानुन तिम्रो होइन। न्याय तिम्रो निजी सम्पत्ति होइन। राज्यका संस्थाहरू कसैको व्यक्तिगत प्रतिशोध पूरा गर्ने औजार होइनन्’, पौडेलले लेखेका छन्।
उनले आफूहरू निष्पक्ष अनुसन्धान, तथ्य र प्रमाणको पक्षमा रहेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन्।
‘गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन। सत्ताको आडले सत्य लुक्दैन। हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नहरूको जवाफ देऊ’, उनको भनाइ छ।


प्रतिक्रिया