डिन कप अन्तरविद्यालय भलिबलको उपाधि लालीगुराँस बाटिकालाई

डिन कप अन्तरविद्यालय भलिबलको उपाधि लालीगुराँस बाटिकालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डाइनमिक एजुकेशनल एसोसिएसन नेपाल (डिन) को आयोजनामा सम्पन्न प्रथम ‘डिन कप अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि लालीगुराँस बाटिका सेकेन्डरी स्कुलले जितेको छ।

नरेफाँटस्थित लालीगुराँस बाटिका सेकेन्डरी स्कुलमा आयोजित प्रतियोगितामा हिमशिला बोर्डिङ स्कुल दोस्रो भएको छ। समता शिक्षा निकेतन र नवजीवन शिशु निकेतनले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्।

डिनका अध्यक्ष अनिलकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालीगुराँस बाटिका स्कुलका अध्यक्ष इन्जिनियर रामेश्वरप्रसाद कलवर, निर्देशक सुदर्शन पराजुली, काठमाडौं मेट्रोका खेलकुद विभाग संयोजक राजकुमार बोकटी, डिन कार्यसमितिका कोषाध्यक्ष कमलप्रसाद पाण्डे, सदस्य तथा परीक्षा विभाग प्रमुख हरि शिवाकोटी र खेलकुद विभाग संयोजक सरोज नेपाललगायत उपस्थित थिए।

कार्यक्रममा अध्यक्ष सुब्बाले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने बताए। यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उनको भनाइ थियो।

उनले विद्यालय तहबाटै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै सहभागी सबै विद्यालय तथा विजेता टोलीलाई शुभकामना दिए।

‘युनिटी फर एजुकेशनल एक्सिलेन्स’ (शैक्षिक उत्कृष्टताका लागि एकता) भन्ने मूल नारासहित आयोजित प्रतियोगिताले विद्यालयहरूबीच आपसी सम्बन्ध विस्तार, विद्यार्थीको खेल प्रतिभा पहिचान र खेलकुद संस्कृतिको विकासमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।