आईजीपी केसीले औँल्याए प्रहरीको कार्यशैली सुधार्नुपर्ने आवश्यकता

आईजीपी केसीले औँल्याए प्रहरीको कार्यशैली सुधार्नुपर्ने आवश्यकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उनले चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्ने बताए।

दसैँपछि मनाइने दीपावली, नेपाल संवत् र छठलगायतका पर्वमा हुन सक्ने लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि रोक्न प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्न पनि उनले निर्देशन दिए।

प्रहरी सेवा व्यावसायिक, उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै उनले चाडपर्वका बेला नागरिकमैत्री सेवा प्रवाह गर्न प्रहरी कर्मचारीको व्यवहार, आचरण र कार्यशैलीमा सुधार गर्नुपर्ने बताए।

केसीले चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन तथा ट्राफिक व्यवस्थापनलाई नागरिकको अपेक्षाअनुसार सहज बनाउन निर्देशन दिए। पटका तथा विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिप्रति सचेत रहन पनि उनले प्रहरीलाई आग्रह गरे।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले उपत्यकाको शान्ति सुरक्षा, सुरक्षा चुनौती र अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएका थिए।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियासहित वरिष्ठ प्रहरी अधिकृत तथा उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी अधिकृतहरू उपस्थित थिए।