भोटेकोशी बाढीपछि उद्धारमा खटिएको प्रहरी कुकुर ‘लियो’ बन्यो सर्वोत्कृष्ट

भोटेकोशी बाढीपछि उद्धारमा खटिएको प्रहरी कुकुर ‘लियो’ बन्यो सर्वोत्कृष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आइतबार कुकुर पूजा तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको छ।

उक्त अवसरमा यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा सर्वोत्कृष्ट ठहरिएको प्रहरी कुकुर ‘लियो’लाई पुरस्कृत गरिएको थियो।

ल्याब्राडोर रिट्रिभर जातको भाले कुकुर ली गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नुवाकोटमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्यमा खटिएको थियो। उक्त विपद्का क्रममा प्रहरीले नुवाकोटमा दुईवटा ल्याब्राडोर कुकुर परिचालन गरेको थियो।

खोज तथा उद्धारका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेको लीले शवका अंग तथा शव पत्ता लगाउन उद्धारकर्मीहरूलाई महत्त्वपूर्ण सहयोग पुर्‍याएको नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख एसपी डा. रामचन्द्र सत्यालले जानकारी दिए

भोटेकोशीमा आएको विपद्पछि प्रहरीले खोज तथा उद्धारका लागि लीसहित चारवटा कुकुर परिचालन गरेको थियो। विपद्बाट सबैभन्दा बढी प्रभावित रसुवामा भने प्रहरीले जर्मन शेफर्ड र बेल्जियन शेफर्ड जातका दुईवटा कुकुर परिचालन गरेको थियो।

रसुवाको टिमुरे क्षेत्रमा पनि कुकुरको सहयोगमा प्रहरीले शव खोजी तथा संकलन गरेको थियो। त्यहाँ खोज तथा उद्धार अभियानको नेतृत्व गर्नुभएका एसएसपी दीप शमशेर जबराका अनुसार प्रहरीको कुकुर टोलीको सहयोगमा टिमुरे क्षेत्रमा तीनवटा शव फेला पारिएको थियो।

बाढीपहिरोका कारण पुरिएका घर तथा अन्य संरचनामा समेत कुकुरहरू परिचालन गरिएको थियो। खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रहरीले हेलिकप्टरमार्फत कुकुरहरूलाई प्रभावित क्षेत्रमा पुर्‍याएको थियो।

विपद्का कठिन परिस्थितिमा आफ्नो क्षमता र दक्षता प्रदर्शन गर्दै मानवीय उद्धारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको लीलाई यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुरका रूपमा सम्मान गरिएको हो।

त्यस्तै, दौड प्रतियोगितामा प्रथम भएको ‘तोजो’, बाधापार प्रतियोगितामा प्रथम भएको ‘रोज’ र आज्ञापालन प्रतियोगितामा प्रथम भएको ‘छुर्पी’ पनि पुरस्कृत भए। उत्कृष्ट कार्य गर्ने कार्यालयका प्रहरीलाई समेत पुरस्कार प्रदान गरियो

कार्यक्रमलाई सम्बोधन गर्दै अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले अपराध अनुसन्धान तथा सुरक्षामा केनाइन सेवाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए।

आगामी दिनमा यो सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति र भौतिक स्रोतसाधनयुक्त बनाउनुपर्ने उनको भनाइ थियो। उनले केनाइन सेवाले केन्द्रमा मात्र नभई प्रदेशस्तरमा समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको उल्लेख गरे।

कार्यक्रममा प्रहरी कर्मचारी र कुकुरहरूले पुष्पवर्षा, आज्ञापालन, बाधापार तथा दौड प्रतियोगितालगायतका प्रदर्शनी गरेका थिए।

प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्राविधिक प्रहरी नायब उपरीक्षक डा. चेतनारायण ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए।

नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यलाई तथ्यपरक र प्रमाणमुखी बनाउन लामो समयदेखि तालिमप्राप्त कुकुर परिचालन गर्दै आएको छ।