वासिङ्टन- अमेरिकाले इरानको आणविक कार्यक्रमबारे सूचना उपलब्ध गराउनेलाई २ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शुक्रबार यस्तो घोषणा गर्दै सूचना दिने व्यक्तिलाई आवश्यक परे अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सुविधा पनि उपलब्ध गराइने जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रममार्फत इरानका आणविक केन्द्र, उपकरण र वैज्ञानिकसहित यससँग सम्बन्धित व्यक्तिबारे सूचना माग गरिएको हो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को सुरक्षा दायित्व पालना नगरेका कारण इरानमा युरेनियम प्रशोधनमा प्रयोग हुने सेन्ट्रिफ्युजलगायत महत्त्वपूर्ण उपकरणको उत्पादन र मौज्दातबारे निगरानी गर्ने क्षमतामा कमी आएको छ।
यसले ती सामग्रीको अवस्थाबारे निरन्तर जानकारी प्राप्त गर्ने प्रक्रियामा अवरोध सिर्जना गरेको अमेरिकी दाबी छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक कार्यक्रमसम्बन्धी युद्ध अन्त्य गर्न सम्झौता गर्न इच्छुक रहेको दाबी गरेका छन्।
शुक्रबार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानको अर्थतन्त्र र सैन्य क्षमता आठ महिनाको युद्धबाट कमजोर बनेको उल्लेख गरे।
ट्रम्पले अमेरिकी आक्रमण नभएको भए इरानले आणविक हतियार प्रयोग गरेर मध्यपूर्वलाई ध्वस्त पार्न सक्ने दाबीसमेत गरे। उनले इरानसँग सम्झौताका लागि छलफल भइरहेको बताए।
युद्ध पुनः सुरु हुन नदिन मध्यस्थकर्तामार्फत कूटनीतिक प्रयास जारी छन्। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि संकटको समाधान संवादबाट खोज्ने प्रयास भइरहेको बताएका छन्।
यसअघि ट्रम्पले मध्यइरानस्थित ‘पिक्याक्स माउन्टेन’सहित एक–दुई लक्ष्यमा थप कारबाही गर्न बाँकी रहेको बताएका थिए।
उक्त स्थानलाई अमेरिकाले शंकास्पद आणविक केन्द्रका रूपमा लिँदै आएको छ भने इरानले त्यहाँ आणविक संरचना रहेको अस्वीकार गर्दै आएको छ।


प्रतिक्रिया