भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ ।

यसै क्रममा आईतबार भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा कुकुर तिहारका अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गरेको छ ।

प्रदर्शनीमा कुकुरहरुले दौड प्रतियोगिता, बेपत्ताको खोजी, शंकास्पद वस्तुको निगरानी एवं पहिचान, अपराधीको गन्धबाट खोजी, हाई जम्पलगायत विभिन्न कला प्रदर्शन गरिएको थियो । गुल्ममा रहेको सबै कुकुरको आईतबार एकैसाथ पूजा गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले कुकुर कतव्यनिष्ठ इमान्दार पशुका रूपमा लिइने र भैरवका बाहनका रूपमा यसलाई पुजिने बताए ।

उनले मानिसभन्दा १ लाख गुणा बढी कुकुरमा सँुघ्न सक्ने क्षमता रहेकाले कतिपय अपराधका घटनामा सँुघेर पत्ता लगाउन यहाँका तालिमप्राप्त कुकुरको प्रयोग गरिने बताए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, वडाका वडाध्यक्षहरू, नेपाली सेनाका विभिन्न गुल्ममा गुल्मपतिहरू लगायतले कुकुरको कला प्रदर्शनीको अवलोकन गरेका थिए ।

गुल्मपति सेनानी निज महराले गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुन सक्ने सम्भावित दुर्घटनाबारे सूचना संकलनका लागि कुकुरहरूको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरूको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराएका थिए । गुल्म २०६० वैशाख १ गते स्थापना भएको थियो ।

गुल्मले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पनि कुकुर प्रयोग गर्दै आएको छ । हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।

हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रूपमा पनि लिने गरिन्छ भने कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने इमान्दार जनावरका रूपमा लिइन्छ ।

कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ ।

भैरवको वाहनका रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।