चितवन – थारू समुदायमा आईतबार सोहराई पर्व धुमधामका साथ मनाइँदैछ ।
यस अवसरमा थारू बस्तीहरूमा परम्परागत परिकार ‘ढिकर रोटी’ (जसलाई नगर रोटी वा चौधरी रोटी पनि भनिन्छ) पकाउने र पूजाअर्चना गर्ने बेग्लै रौनकता छ ।
चितवनको कालिका नगरपालिकाकी थारू अगुवा बालकुमारी चौधरीका अनुसार सोहराई थारू समाजको सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्वहरूमध्ये एक हो । अन्य समुदायले लक्ष्मी पूजा मनाइरहँदा थारू समुदायले भने यसलाई आफ्नै विशिष्ट सांस्कृतिक पहिचानसहित ‘सोहराई’का रूपमा मनाउँछन् ।

वर्षभरि सुख, शान्ति मिलोस् र घरमा अन्नको भण्डार भरियोस् भन्ने कामनासहित सोहराई पर्व मनाइन्छ । लक्ष्मी पूजा तथा गाई तिहारको अवसरमा बनाइने ढिकर रोटी सोहराई पर्वको मुख्य परिकार र पूजा सामग्री मानिन्छ। चामलको पिठोलाई मुसेर विशेष आकार दिएर ढिकर रोटी तयार पारिन्छ। सोहराई पर्वमा यो रोटी अनिवार्य परिकारको रूपमा बनाइन्छ।
ढिकर रोटी बनाउन थारू भाषामा ‘एटलहरी’ भनिने परम्परागत विशेष भाँडोको प्रयोग गरिन्छ । तलको भाँडोमा पानी राखिन्छ र माथि प्वाल परेको भाग (पैनी) मा रोटीहरू राखेर मोमो पकाएझैँ बाफमा उसिनेर ढिकर पकाउने गरिन्छ ।

सोहराईको बेलुका घरको आँगनमा गोबरले पोतेर सुन्दर रङ्गोली बनाइन्छ र माटोको दियो बालेर ‘दिउली बत्ती’ पूजा गरिन्छ । घरको प्रमुख व्यक्तिले मन्त्र जप गरी आँगन र दैलोमा पूजा गर्छन् । भोलिपल्ट बिहान आँगनमा धान, चामल र ढिकर रोटी राखी पूजाअर्चना गरी घर भित्र्याउने परम्परा छ ।
तातोतातो ढिकर रोटीलाई विशेष गरी मासु, माछा वा विभिन्न चटनीसँग खाने चलन छ । भोलिपल्ट बिहान भने यस रोटीलाई आगोमा पोलेर खाने गरिन्छ, जसको स्वाद अझ मीठो हुन्छ ।
तस्वीर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया