काठमाण्डु – छठपछि मधेस प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।
प्रदेश सभामा २५ सिट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारको नेतृत्व गर्ने सम्भावना रहे पनि औपचारिक निर्णय भइसकेको छैन ।
जसपा नेपालका नेता मनिष सुमनका अनुसार छठपछि नयाँ सरकार गठन गर्ने विषयमा विभिन्न दलबिच छलफल भइरहेको छ। तर जसपा नेपालबाटै मुख्यमन्त्री बन्ने हो कि होइन भन्ने विषयमा अहिलेसम्म निर्णय भइनसकेको उनी बताउँछन् ।
मधेसमा अहिले सातौँ मुख्यमन्त्रीको खोजी भइरहेको छ । गत वर्ष नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादव अहिले अल्पमतमा परिसकेका छन् । उनलाई विश्वासको मत नदिने विषयमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको एउटै धारणा छ ।
यादवले विश्वासको मत नपाउने स्थिति बनेपछि अहिले जसपा नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर नयाँ सरकार गठन गर्ने प्रक्रिया अघि बढेको बताइन्छ । यद्यपि विभिन्न पक्षबीच छलफल जारी रहेकाले नयाँ सरकारको स्वरूपबारे अन्तिम निर्णय भइसकेको छैन ।
‘मधेसको नयाँ सरकार बन्ने विषयमा अन्तिम निर्णय छठपछि हुन्छ। अहिले सबै कोणबाट संवाद र छलफल भइरहेको छ,’ नेकपाका सहसंयोजक माधव नेपाल भन्छन्, ‘कसको नेतृत्वमा नयाँ सरकार बन्छ भन्ने टुंगो लागिसकेको छैन । अब नेपाली कांग्रेसका सभापति गगन थापाजी र सीके राउतको जनमत पार्टी सरकारमा नजाने भइसकेपछि अरूकै बन्ने स्थिति छ । तर उहाँहरूले नजाने भनेर पूर्ण रूपमा इन्कार भने गर्नुभएको छैन ।’
यता नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेस प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । एमाले सहितको गठबन्धनमा कांग्रेस सहभागी नहुने विषयमा ढुक्क हुन उनले आग्रह गरेका छन् ।
जसपाको नेतृत्वमा सरकार बनाउन संवाद
नेताहरूले उपेन्द्र यादवलाई मधेश प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नगराए जसपा नेपाल नै विभाजन गर्ने चुनौती दिएका छन् । जसको दबाबमा उनी पार्टीलाई सरकारमा सहभागी गराउने दिशामा अघि बढेको बताइन्छ । विदेश भ्रमणमा रहेका बेला पनि उपेन्द्रले प्रचण्ड र ओलीसँग संवाद गरेको बुझिएको छ ।
उपेन्द्रको पार्टीमा रहेका मधेशका धेरै नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डनिकट नेताहरूसँग छलफल गरिरहेका छन् । पार्टीका नेताहरूले पनि यसलाई स्वीकार गरेका छन् ।
अल्पमतमा परेका मुख्यमन्त्री यादव २९ कात्तिकमा पदमुक्त भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । यतिखेर जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने तयारीमा छन् ।
यस विषयमा जसपा नेपालका अध्यक्ष यादवलाई सोध्दा उनले छलफल भइरहेकाले अहिले नै निर्णय भइनसकेको बताए ।
‘मधेसमा हामीले सरकार माग्नु स्वाभाविक प्रक्रिया हो । सबै कोणबाट छलफल भइरहेको छ । यो चाडपर्वपछि केही निर्णय आउँछ,’ यादवले काठमाण्डुपाटीसँग भने, ‘अहिलेलाई संवादमै छौँ भन्ने बुझौँ। सबै कुराको निर्णय भइसकेको छैन । तर हामीप्रति सबैले सकारात्मक धारणा राख्नुभएको छ।’
नेकपा एमालेका नेताहरू पनि मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको सरकार बन्ने विषयमा थोरै मात्रै कुरा मिल्न बाँकी रहेको बताउँछन् । मधेश सरकारमा सहभागी हुन जसपा नेपालका नेताहरूले एमालेसँग निरन्तर लबिङ गरिरहेको बुझिएको छ ।
एमाले अध्यक्ष ओलीनिकट केही नेताहरूका अनुसार अन्तिम सहमति उपेन्द्र, ओली र प्रचण्डबिचको छलफलबाट टुंगिनेछ ।
‘छठलगत्तै ३ जना नेता बसेर छलफल गर्ने कुरा भएको छ । अहिले सबै कुरा सकारात्मक छ। नेकपाका नेताहरू त उपेन्द्रजीलाई सरकारको नेतृत्व दिन सुरुदेखि नै तयार हुनुभएको हो । हाम्रो पक्षबाट केही विचार गरौँ भन्ने थियो । अन्तिम छलफल हुन केही समय लाग्छ । उपेन्द्रजीहरूले मुख्यमन्त्री नपाउने भए सरकारमै नजाने भनेपछि हाम्रो अध्यक्षज्यू लचिलो हुनुभयो,’ ओलीनिकट ती नेताले काठमाण्डुपाटीसँग भने, ‘साउन ९ गते बनेको वाम गठबन्धनलाई कसिलो बनाउन अध्यक्षज्यू तयार भएका कारण मधेशमा उपेन्द्रजीहरूलाई सरकारको नेतृत्व दिन समस्या हुँदैन भन्ने कुरामा लगभग प्रचण्डजी र अध्यक्षज्यूको सहमति छ ।’
केन्द्रमा कांग्रेस र एमालेको गठबन्धन तोड्दै गत साउन ९ गते ओली र प्रचण्डले वाम गठबन्धनलाई पुनर्जीवित गरेका थिए । त्यसअनुसार प्रदेश सरकारहरूमा सहकार्यको प्रक्रिया अघि बढेको थियो । सहमतिअनुसार बागमती, कर्णाली र सुदूरपश्चिममा नयाँ मुख्यमन्त्री आइसकेका छन् । लुम्बिनी र कोशीमा एमालेले सरकारको नेतृत्व गरिरहेको छ, जहाँबाट कांग्रेस बाहिरिएको छ ।
उपेन्द्रलाई अप्ठ्यारो
साउन २३ गते सीके राउत र उपेन्द्र यादव मिलेर अग्रगामी मोर्चा गठन गरे । यस्तोमा उपेन्द्र तत्कालै सरकारमा सहभागी हुने आकलन धेरैले गरेका थिएनन् । तर जसपा नेपालका मधेस प्रदेशका धेरै नेताहरू सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएपछि उपेन्द्रलाई अप्ठ्यारो परेको छ ।
सीके राउतले सार्वजनिक विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनसम्म प्रदेश सरकारमा सहभागी नहुने जानकारी दिइसकेका छन् । उनले काठमाण्डुपाटीसँगको कुराकानीमा पनि आफ्नो निर्णय परिवर्तन नहुने बताएका छन् ।
जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहितको मोर्चा अघि बढेपछि सीके राउतलाई तत्कालै प्रचण्ड र ओलीसँग नजिकिन पनि समस्या देखिएको छ । तर उपेन्द्र यादव भने सत्ता समीकरणमा सहभागी हुन ओली र प्रचण्डसँग सहकार्य गर्ने अवस्थामा पुगेको विश्लेषण प्रलोपाका एक नेताको छ ।
‘उपेन्द्रजीहरू सरकारमा सहभागी हुने भन्ने सुन्दैछौँ । खासमा यो हाम्रो मोर्चाको निर्णय होइन, उहाँहरूको निर्णय हुन सक्छ,’ प्रलोपाका ती नेताले भने, ‘उहाँहरूको पार्टीको आफ्नै निर्णय हो । तर यसले मोर्चालाई असर पर्नु हुँदैन भन्ने कुरामा हामी ढुक्क छौँ ।’
मधेशमा एमाले र जसपा नेपालको सरकार गठन भए सहज बहुमत पुग्ने देखिन्छ । त्यसका लागि उपेन्द्र नेतृत्वको जसपा नेपाललाई नै मुख्यमन्त्री दिनुपर्ने विषयमा अहिले वाम गठबन्धनभित्र व्यापक छलफल भइरहेको एमाले नेत्री निरु पाल बताउँछिन् ।
मधेसमा निरन्तर सरकार परिवर्तन भइरहेकाले स्थिर सरकार गठनका लागि पनि कुनै न कुनै निर्णय गर्नुपर्ने अवस्था रहेको विश्लेषण उपेन्द्र यादवले समेत गरेका छन् । ‘मधेश सरकार अस्थिर भएकोमा हामी गम्भीर छौँ । स्थिर सरकार ल्याउन प्रयत्न रहन्छ । तर समय थोरै रहेकाले अहिले तत्कालै यही हुन्छ भन्ने स्थिति छैन,’ यादवले काठमाण्डुपाटीसँग भने, ‘अस्थिरताका कारण मधेसको विकास पछि परिरहेको छ। केही समयका लागि भए पनि स्थिर सरकार बनाऔँ भन्ने विषयमा त सबै सकारात्मक हुने नै भयो ।’


प्रतिक्रिया