एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जीत

एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ ।

सोमबार सम्पन्न आफ्नो पाँचौँ खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । २१८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनायो ।

२१७ रन बनाउने क्रममा पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले । उनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र छ छक्काको मद्दतमा १०२ रन बनाए । त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा ७ छक्का प्रहार गर्दै ६२ रन बनाए । कप्तान चमिका करुणारत्नेले ११ बलमा ३ चौका र ३ छक्कासहित अविजित ३५ रन जोडे । महेदी हसन ५ रनमा र सन्नी विक ३ रनमा आउट भए ।

बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । यस्तै मार्क वाटले १ विकेट लिए ।

जवाफी ब्याटिङ गर्ने क्रममा कर्णाली याक्सका लागि पवन शर्राफले ३२, अरिफुल स्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ तथा सूर्य तामाङले १३ रन बनाए । बलिङतर्फ पोखरा एभेन्जर्सका लागि मेहदी हसनले ३, धनन्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले २/२ विकेट लिएका थिए ।