काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्।
तुर्कीएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खनालले परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको जोखिमबारे विश्वको ध्यानाकर्षण गराए।
उनले हिमनदी तथा हिममण्डलसँग सम्बन्धित विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै हालैको भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिए । नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमानुपातिक रूपमा बढी जोखिम वहन गर्नुपरेको उनको भनाइ थियो।
उनले हिमाली क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायको ठोस प्रतिबद्धता र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।
नेपाल, भुटान र किर्गिस्तानले हिमाल तथा जलवायु परिवर्तनको विषयलाई कोप–३१ को औपचारिक कार्यसूचीमा समावेश गर्न संयुक्त पहल गरेको जानकारी दिँदै उनले विश्वको करिब २७ प्रतिशत भूगोल र १५ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष प्रभाव पार्ने हिमाली क्षेत्रलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
उनले हिमाली क्षेत्रका लागि १.५ डिग्री सेल्सियसको तापक्रम सीमाको लक्ष्यलाई विशेष प्राथमिकता दिनुपर्ने, हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना बनाउनुपर्ने र विश्वव्यापी अनुकूलन लक्ष्य तथा नयाँ सामूहिक परिमाणित जलवायु वित्त लक्ष्यमा हिमालविशेष सूचक समावेश गर्नुपर्ने प्रस्ताव राखे।
नेपालले हालैका विपद्पछि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहानुभूति र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै त्यसलाई ठोस सहयोग र कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा पनि उनले जोड दिए।
‘यसैबीच, परराष्ट्रमन्त्री खनाल कोप–३१ को उद्घाटन पूर्ण सत्रमा सहभागी भए । सो अवसरमा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले सम्मेलनको अध्यक्षता तथा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले वार्ता प्रक्रियाको अध्यक्षता सम्हालेका छन्।
सम्मेलनकै अवसरमा परराष्ट्रमन्त्री खनालले इथियोपियाका परराष्ट्रमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
भेटमा मन्त्री खनालले हालैका विनाशकारी जलवायुजन्य विपद्पछिको कठिन परिस्थितिमा इथियोपिया सरकार र जनताले व्यक्त गरेको सहानुभूति तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरे।
उनले कोप–३१ र इथियोपियाको आगामी कोप अध्यक्षताअन्तर्गत समानता, साझा वातावरणीय जिम्मेवारी तथा बहुपक्षीय साझेदारीमा आधारित विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए।
भेटवार्तामा दुवै मन्त्रीले जलवायु परिवर्तन, अतिकम विकसित मुलुक (एलडीसी)बाट स्तरोन्नतिको दिगोपन, व्यापार, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विषयमा विचार आदानप्रदान गरे। साथै, नेपाल र इथियोपियाबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरे।


प्रतिक्रिया