काठमाण्डु – नेवार समुदायले मौलिक तथा परम्परागत पर्व म्ह:पूजा मंगलबार विधिपूर्वक मनाएका छन् ।
नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले शरीर तथा अन्तरात्माको पूजा गरी म्ह:पूजा मनाएका हुन् ।
नेपाल भाषामा ‘म्ह’को अर्थ शरीर हुन्छ । त्यसैले म्ह:पूजाको शाब्दिक अर्थ शरीरको पूजा भन्ने लाग्छ । यसलाई आत्मा वा अन्तरात्माको पूजा गर्ने संस्कृतिका रूपमा पनि लिइन्छ ।
म्ह:पूजामार्फत आफूभित्रको नकारात्मक ऊर्जा हटाएर नयाँ ऊर्जा प्राप्त होस्, आगामी दिनमा शुद्ध मनले काम गर्न सकियोस् र कसैलाई हानि नपुगोस् भन्ने कामना गरिन्छ ।
म्ह:पूजा गर्दा सर्वप्रथम पूजा गर्ने व्यक्तिको आसनअगाडि मण्डल (म्ह:मण्डप) बनाइन्छ । व्यक्तिको प्रतीकका रूपमा बनाइने मण्डलमा विभिन्न सामग्री राखेर पूजा गर्ने परम्परा छ । मण्डलमा पानी र तेलका चक्र बनाउनुका साथै जीवनका विभिन्न अवस्थाको प्रतीकस्वरूप सामग्री सजाइन्छ । अन्धकार नाश र उज्यालोको प्रतीकका रूपमा लामो बत्तीसमेत बाल्ने गरिन्छ ।
म्ह:पूजामा शुद्ध चामल (आखे), कालो मास, भटमास, धान, लावा, फूललगायत सामग्री प्रयोग गरिन्छ । दैवी शक्तिको प्रतीकका रूपमा बत्ती बालेर पूजा गरिन्छ । यी सामग्रीलाई मानिसको शरीर र जीवनसँग जोडेर हेर्ने गरिएको छ ।

यस वर्ष काठमाण्डु महानगरपालिका–२८ मा सामूहिक रूपमा म्ह:पूजा आयोजना गरिएको छ । आयोजक किरण चित्रकारको पहलमा गरिएको सामूहिक पूजामा स्थानीय तथा म्ह:पूजा गर्न नपाएका व्यक्तिहरू सहभागी भएका थिए ।
सामूहिक म्ह:पूजामा सहभागी प्रकाश चित्रकारका अनुसार पछिल्लो समय परिवारका सदस्यहरू रोजगारी तथा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै घरमा चाडपर्व मनाउने र परम्परागत विधि पूरा गर्ने जनशक्तिको अभाव हुन थालेको छ । म्ह:पूजाको विधि लामो र केही जटिल हुने भएकाले पनि कतिपयले चाहेर पनि पूजा गर्न नसक्ने अवस्था रहेको उनले बताए ।

उनका अनुसार यही अवस्थालाई मध्यनजर गर्दै आयोजक किरण चित्रकारले ४–५ वर्षअघिदेखि नै सामूहिक म्ह:पूजाको प्रयास गर्दै आएका थिए । यस वर्ष उक्त प्रयासले मूर्त रूप लिएको हो । सामूहिक रूपमा पूजा गर्दा म्ह:पूजा गर्न नपाएका व्यक्तिहरूलाई पनि आफ्नो संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने उनको भनाइ छ ।
प्रकाश चित्रकारले म्ह:पूजालाई केवल शरीरको पूजा मात्र नभई वर्षभरि आफूले गरेका कामको आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । वर्षभरि जानेर वा नजानेर भएका गल्तीप्रति क्षमायाचना गर्दै आगामी दिनमा कसैलाई हानि नपुर्याउने र सकारात्मक सोचका साथ अघि बढ्ने संकल्प गर्नु नै म्ह:पूजाको मूल भावना रहेको उनले बताए ।

नेपाल संवत्को नयाँ वर्षसँगै मनाइने म्ह:पूजा नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको पर्व हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यतासँग जोडिएको यस पर्वले आत्मसम्मान, आत्मशुद्धि र सकारात्मक जीवनको सन्देश दिने विश्वास गरिन्छ ।


तस्वीर : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया