काठमाण्डु – अकस्मातको वर्षाले काठमाण्डुको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ ।
बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो ।
अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुगेका भक्तजन रामजी नेपालले जानकारी दिए ।
वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाण्डुको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ ।
वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो । विक्रम संवत् २०३५ सालपछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो ।
विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि बालगोपालेश्वरमा भाइटीका प्रभावित भएको थियो ।
भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विक्रम संवत् २०७७ सालदेखि पुन: भक्तजनका लागि खुला गरिँदै आइएको छ ।


प्रतिक्रिया