स्पेनमा १४ वर्षपछि आमहडताल, ठाउँ-ठाउँमा झडप र आगजनी

स्पेनमा १४ वर्षपछि आमहडताल, ठाउँ-ठाउँमा झडप र आगजनी

राजधानी म्याड्रिडमामा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बढ्दो महँगी र आवास खर्चको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक आमहडताल भएको छ ।

बुधबार भएको हडतालमा देशका प्रमुख सहर म्याड्रिड र बार्सिलोनासहित विभिन्न स्थानमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको बताइएको छ ।

हडतालमा व्यापक सहभागिता रहेको प्रमुख श्रमिक सङ्गठन यूजीटीका प्रमुख पेपे अल्भारेजले दाबी गरेका छन् । अर्का श्रमिक सङ्गठन सीसी ओओका प्रमुख उनाइ सोर्दोले पनि सहभागिता उल्लेखनीय रहेको बताएका छन् । तर, स्पेनको व्यावसायिक सङ्गठन महासङ्घले भने विभिन्न क्षेत्रअनुसार हडतालको प्रभाव फरक रहेको र सहभागिता न्यून भएको जनाएको छ ।

प्रदर्शनका क्रममा बार्सिलोना र राजधानी म्याड्रिडमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बार्सिलोनामा प्रदर्शनका क्रममा नकाबधारी समूहले फोहोर फाल्ने कन्टेनरमा आगो लगाउनुका साथै पसलका सिसा फुटाएका थिए । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । स्पेनको गृह मन्त्रालयका अनुसार विभिन्न घटनामा दर्जनौंलाई पक्राउ गरिएको छ ।

आमहडतालका कारण स्पेनभर यातायात र अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् । म्याड्रिड र बार्सिलोनाका प्रमुख सडकहरूमा आवागमन अवरुद्ध भएको थियो ।

बार्सिलोनाको प्रदर्शनमा सहभागी एक महिलाले अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेको र प्रदर्शनमा बालबालिका र वृद्धवृद्धासमेत सहभागी भएको बताइन् ।

स्पेनमा सस्तो आवासको माग र दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यविरुद्ध केही समययता प्रदर्शन हुँदै आएका छन् । म्याड्रिडमा ८७ वर्षीया मारीकार्मेन अबास्काललाई सात दशकदेखि बस्दै आएको फ्ल्याटबाट निकालिएपछि विरोध चर्किएको थियो । केही सातापछि अस्पतालमा उनको मृत्यु भएको थियो ।

स्पेनमा आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुँदैछ । आवास सुधारसम्बन्धी आफ्नो योजनाले संसद्बाट स्वीकृति नपाएपछि प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना समयअगावै निर्वाचन गराउने घोषणा गरेका थिए ।

घरभाडा अत्यधिक बढेपछि सर्वसाधारणलाई आवास व्यवस्थापन गर्न कठिन भएको छ । घरजग्गासम्बन्धी वेबसाइट आइडियलिस्टाका अनुसार अक्टोबरमा म्याड्रिडमा ५० वर्गमिटरको अपार्टमेन्टको औसत मासिक भाडा एक हजार १७० युरो पुगेको थियो । स्पेनको औसत मासिक कुल तलब भने करिब दुई हजार ४६० युरो रहेको छ ।

सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री मारियानो राखोयको सरकारका बेला स्पेनमा अन्तिमपटक देशव्यापी आमहडताल भएको थियो । अहिलेको आन्दोलनमा भने प्रधानमन्त्री सान्चेजले समेत श्रमिकको हडताल गर्ने अधिकारको समर्थन गरेका छन् ।

विपक्षी कन्जरभेटिभ पिपुल्स पार्टीले भने सरकारले निर्वाचनमा राजनीतिक लाभ लिन हडताललाई प्रयोग गरेको आरोप लगाएको छ । आमहडतालका क्रममा विभिन्न घटनामा दर्जनौँ व्यक्ति पक्राउ परेको स्पेनको गृह मन्त्रालयले जनाएको छ ।