सन्दिपको ह्याट्रिकसँगै पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

सन्दिपको ह्याट्रिकसँगै पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा अलआउट भएको हो। सुरुवातबाटै एकपछि अर्को विकेट गुमाए पनि ओपनर युवराज साम्राले केही सम्हाले पनि अन्य ब्याट्सम्यान नचल्दा पोखरा मध्यम योगफलमा समेटियो ।

क्यानेडेली ब्याटर साम्राले ४७ बलमा ५ छक्का र ७ चौकाको मद्दतमा ८४ रन बनाए।

धनन्जय लक्षणले २२ र सन्नी बिक १२ रनमा आउट भए भने अन्य कुनै ब्याटरले दोहोरो अंकका स्कोर गर्न सकेनन्।

विराटनगरका कप्तान सन्दीप लाछिानेले ह्याट्रिकसहित ६ विकेट लिए। पोखरा एभेन्जर्सविरुद्ध उनले १५औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्।

१४.३ ओभरमा ओपनर युवराज साम्रालाई ८४ रनमा आउट गराएका उनले १४.४ ओभरमा पोखराका क्याप्टेन चामिका करुनारत्ने र १४.५ ओभरमा किरण ठगुन्नालाई गोल्डेन डकआउट गराउँदै नेपाली राष्ट्रिय टोलीका क्याप्टेन सन्दीपले ह्याट्रिक पूरा गरेका हुन्।

योसँगै उनी एनपीएलको जारी सिजन ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। ५ विकेटको आँकडा पूरा गर्ने पनि सन्दीप पहिलो खेलाडी हुन्। थप विकेट भने एङ्गेलो म्याथ्युज र चारिथ असलंकाको नाममा रह्यो।

पाँच खेलको समाप्तिमा छैठौं स्थानमा रहेको विराटनगरको ४ अंक छ भने पुछारमा रहेको पोखराको मात्र २ अंक छ। प्लेअफको सम्भावना कायमै राख्न विराटनगरलाई आज जित्नै पर्ने दबाब छ।