काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को २३औँ खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्स सुरुवातमै दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले ५.१ ओभरमा चार विकेट गुमाएर २१ रन बनाएको छ।
कर्णालीका ओपनर दीपेन्द्र रावत खाता नखोली आउट भए। दीपक डुम्रे र अरिफुल इस्लामले समान चार रन बनाए भने कार्यवाहक कप्तान डेभिड मिलर पाँच रनमा पेभेलियन फर्किए। मिलरलाई शेर मल्लले रुबेन ट्रम्पेलम्यानको हातबाट क्याच गराए।
क्रिजमा पवन सर्राफ १ र सोमपाल कामी १३ रन बनाएर खेलिरहेका छन्। लुम्बिनीका अभिषेक गौतमले दुई विकेट लिएका छन् भने किशोर महतो र शेर मल्लले एक–एक विकेट हात पारेका छन्।
कर्णालीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। टोलीका नियमित कप्तान सोमपाल कामीको स्थानमा मिलरले टस गरेका थिए। सोमपाल टोलीमा रहे पनि नेतृत्व मिलरले सम्हालेका छन्। कर्णालीले खेलअघि टोलीमा तीन परिवर्तन गरेको थियो।
कर्णालीले प्रतियोगिताका सुरुवाती दुई खेल जितेपछि लगातार तीन खेलमा हार बेहोरेको छ। पाँच खेलमा सोमपालको कप्तानीमा टोलीले दुई जित र तीन हार बेहोरेपछि नेतृत्व परिवर्तन गरिएको समाचारमा उल्लेख छ।


प्रतिक्रिया