भीमफेदी दुर्घटनामा छठ मनाउन घर हिँडेका एकै परिवारका छ जनाले गुमाए ज्यान

भीमफेदी दुर्घटनामा छठ मनाउन घर हिँडेका एकै परिवारका छ जनाले गुमाए ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा एकै परिवारका छ जनाले ज्यान गुमाएका छन्।

यो दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन्। दुर्घटनामा चालकसहित २० जना सवार थिए।

काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोल जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहान करिब ५:४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट खसेको थियो।

यो गाडी सडकबाट करिब ५०० देखि ७०० मिटर तल खसेको थियो । भिरालो र दुर्गम ठाउँमा गाडी खसेकाले उद्धारमा कठिनाइ भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृतकमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का अवधेश यादवकी श्रीमती पुनम देवी यादव, उनका तीन छोरी र दुई भाइ छन्।

चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डलसहित अन्य यात्रुको पनि मृत्यु भएको छ। मृतक तथा घाइतेमध्ये अधिकांश सुन्दरपुरटोलका बासिन्दा थिए ।

घाइतेमध्ये ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव उपचारपछि डिस्चार्ज भएका छन्। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाण्डुस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ।

यात्रुहरू छठ मनाउन ललितपुरको टीकाथलीबाट राति रिजर्भ गरिएको गाडीमा गाउँ फर्किरहेका थिए। उनीहरूमध्ये धेरै एउटै गाउँका छिमेकी र आफन्त रहेका छन्।

सुरूमा मृतक र घाइतेको संख्या कम थियो । तर उद्धार तथा पहिचान हुँदै गर्दा मृतक १४ पुगेका हुन् । चालक निदाएका कारण दुर्घटना भएको बताइएको छ।